काठमाडौँ, असोज ।
मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भई धादिङको गल्छी क्षेत्रमा सडक बन्द भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप अत्यधिक बढेको छ।
सवारीको चाप बढेसँगै बडादशैँका यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकतामा राखेर आवागमनको व्यवस्थापन मिलाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक सवारी साधनलाई पहिलो र त्यसपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारी साधनलाई प्राथमिकता दिएर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा सवारी व्यवस्थापन गरिएको छ।
त्रिभुवन राजपथ साँघुरो हुनुका साथै घुम्तीहरूमा ठूला सवारीसाधनलाई आवत जावत गर्न कठिनाइ हुने भएकाले आलोपालो प्रणाली ९टर्न बाई टर्न० मार्फत सवारी सञ्चालन गरिएको छ।
सवारी व्यवस्थापनका क्रममा कतिपय सवारीसाधनलाई एकदेखि दुई घण्टासम्म रोक्नुपर्ने बाध्यता रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णयानुसार त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएको छ।
१० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई भने उक्त सडकखण्ड प्रयोग गर्न रोक लगाइएको छ।
यसैगरी साना यात्रुवाहक सवारीसाधनका लागि भीमफेदी सडक खण्डबाट दोहोरो आवागमनको व्यवस्था मिलाइएको छ।
हेटौँडाको चौकीटोलमा टाटा सुमो तथा विद्युतीय सवारीसाधनको पार्किङ र यात्रु चढाउनेरओराल्ने व्यवस्था गरिएको छ भने देउराली र जुरिखेतलगायत जोखिमयुक्त स्थानमा थप ट्राफिक प्रहरी परिचालन गरिएको छ।
यसैबिच, भोलि -आइतबार) देखि सुरु हुने बडादशैँलाई लक्षित गरी हेटौँडा बसपार्क र चौकीटोलमा यात्रु सहायता कक्ष -प्यासेन्जर हेल्प डेस्क) सञ्चालनमा ल्याइएको छ।
यात्रुबाट बढी भाडा असुलिने समस्या, सवारीसाधन चढ्न हुने सास्ती र सडकको अवस्थाबारे जानकारी दिन सहायता कक्ष स्थापना गरिएको हो।
दुर्घटना न्यूनीकरणका लागि चालकहरूलाई तीव्र गतिमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न र सावधानी अपनाउन सचेत गराउँदै समग्र ट्राफिक जनशक्तिलाई सडक व्यवस्थापनमा खटाइएको छ।