२०८३, आश्विन २२ गते

बिहिवार, आश्विन २२ गते २०८३

पश्चिमी र मनसुनी वायुको प्रभाव

मनसुनी वायु : ' केही स्थानमा हावाहुरीसहित वर्षाको जोखिम '

बुधवार , आश्विन २१, २०८३

काठमाडौँ, असोज।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको दोहोरो प्रभाव रहेकाले हिमाली, पहाडी तथा तराईका अधिकांश भू-भागमा मौसम बदली भई वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ।

हिमाली भू-भागका थोरै र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेष गरी लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू-भाग एवं बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशका सबै भू-भाग तथा अन्य हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी एवं तराईका भू-भागमा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार