काठमाडौँ,असोज।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेकाले देशका अधिकांश भू-भागमा मौसम बदली भई वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका सबै भू-भागका साथै कोशी र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ।
हाल गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा असिना र चट्याङसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
विशेष गरी बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेस, कोशी, बागमती र गण्डकीको तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोशी प्रदेशका सबै भू-भाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।
साथै देशका पहाडी क्षेत्रका एक-दुई स्थान र मधेस तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।