काठमाडौँ, असोज।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने १ हजार ४५७ जनाको शव बिहीबार बिहानसम्म फेला परेको छ।
नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लामा फेला परेका शवहरूमध्ये रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जना रहेका छन् भने काठमाडौँमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ।
बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि मृतकका १ हजार ३३७ र आफन्तका २ हजार ८२ गरी कुल ३ हजार ४१९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ भने पहिचान हुन नसकेका १ हजार ४३८ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
बाढीमा परी बेपत्ता भएका ४ हजार ७२० जनाको खोजी कार्य निरन्तर जारी छ भने विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा १ हजार १७९ जना प्रभावितहरूलाई राखिएको छ।