काठमाडौँ, असोज ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ ।
अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन । समावेशीतर्फ विनोदकुमार चौधरी विजयी भएका छन ।
महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीतर्फ डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित भएकाे केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
उपसभापति खुलातर्फको मतगणनामा डा. भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन । आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन ।
यस्तै उपसभापति समावेशीतर्फ चौधरीले एक हजार ७४५ मत प्राप्त गरेका छन ।
महामन्त्री खुलातर्फको मतगणनामा पौडेलले चार हजार १९४ मत प्राप्त गरेर पहिलो स्थान हासिल गरेका छन । राणा दुई हजार ३३० मत प्राप्त गरी महामन्त्री पदमा विजयी भएका छन ।
यस्तै महिला महामन्त्रीतर्फको एक पदमा सङ्ग्रौला तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन ।