काठमाडौं, असोज ।
नेपाली कांग्रेसको जारी १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि (शुक्रबार ) मात्र मतदान हुने भएको छ।
यसअघि आजै मतदान गर्ने बताइए पनि निर्वाचन समितिले मतपत्र छपाइमा ढिलाइ भएका कारण मिति सार्नु परेको बताएको छ।
निर्वाचन समितिका अनुसार शुक्रबार विहान ७ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र प्रज्ञा प्रतिष्ठानमा राखिएको छ।
भूगोल अनुसार तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस सभापतिका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीले उम्मेदवारी दिएका छन्।
त्यस्तै आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताए।
परिचयपत्र र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ।
मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्।
मतदानपछि मतगणना निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ।
मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।
१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।
नयाँ संरचना अनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्। महाधिवेशनको निर्वाचनमा सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले शुक्रबार हुने मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण मानिएको छ।
प्रतिनिधिहरूको मतदानपछि आउने परिणामले पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्वसमेत तय गर्नेछ।
कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूह अनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’- बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’- कोशी प्रदेश तथा तराई-मधेस समूह
हिमाल हल- गण्डकी प्रदेश
तराई-मधेस हल- मधेश प्रदेश
पहाड हल- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि