२०८३, आश्विन २३ गते

शुक्रवार, आश्विन २३ गते २०८३

भदौको बाढी '

कारण - " १० करोड घनमिटर आयतनको हिमचट्टान "

नयाँ अध्ययनका अरू निष्कर्ष के ?

बिहिवार , आश्विन २२, २०८३

 

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढी निम्त्याउने हिमचट्टानको तौल, त्यसले निम्त्याएको भूकम्पीय कम्पन, हिमचट्टान खस्रुअघिका गतिविधि, पहिरो सुरु भएको समय, बाढीको गतिलगायतका विषयमा गरिएको अध्ययनले भविष्यमा पूर्वतयारीका लागि सघाउ पुग्ने वैज्ञानिक तथा अधिकारीहरूले बताएका छन्।

उक्त घटनाबाट उत्पन्न जमिनको कम्पन नेपाल र चीनका साथै विश्वभरिका करिब १९ हजार किलोमिटरभन्दा टाढाका भूकम्पमापक यत्नहरूमा समेत रेकर्ड गरिएको अध्ययनले देखाएको छ।

वैज्ञानिक जर्नल 'सिस्मिका'मा हालै प्रतिवेदन प्रकाशित भएको यो अध्ययनको नेतृत्व खानी तथा भूगर्भ विभागका भूकम्पविद् लोकविजय अधिकारी र शिव सुवेदीले गरेका हुन्।

यो अध्ययनले भविष्यमा निम्तिन सक्ने विपद्का घटनामा खास गरी भूकम्पीय तरङ्गसम्बन्धी पूर्वसूचना प्रणाली विकास गर्न सघाउ पुर्याउने विज्ञहरूले बताएका छन्।

भोटेकोशी-त्रिशूली बाढीमा परी १,४०० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने ५,००० जनाभन्दा बढी बेपत्ता भएका छन्।

 

पत्ता लागेका रोचक तथ्य

यो अध्ययनका लागि नेपालका अधिकारी र सुवेदीसहित सात देशका १७ जना वैज्ञानिकहरूले सहकार्य गरेको बताइएको छ।

त्यस क्रममा नेपाल र चीनका भूकम्पमापक यन्त्रबाट लिइएका तथ्याङ्क तथा रसुवाको सीसीटीभी फुटेजको अध्ययन र विश्लेषण गरिएको अध्ययनका एक नेतृत्वकर्ता अधिकारीले बताए।

भदौ १० गतेबाट अध्ययन सुरु गरेर भदौ २० गते 'सिस्मिका'लाई बुझाइएको अध्ययन प्रतिवेदन पाँच दिनअघि प्रकाशित भएको थियो। अध्ययनले खास गरी भदौ १० गते बिहान नेपाली समयअनुसार ८ बजेर ३७ मिनेट १६ सेकेन्डमा मुख्य पहिरो सुरु भएको देखाएको छ।

"दश करोड घनमिटरबराबरको जुन चट्टान खस्यो, त्यो १.४ किलोमिटर लम्बाइ र ५०० मिटर उचाइको ढिक्का थियो। त्यो खस्दा ५.२ म्याग्निट्यूडको भूकम्पीय तरङ्ग देखियो," अधिकारीले भने।

"त्यो हिउँचट्टान करिब एक किलोमिटर तल खस्यो। र, सुरु भएको करिब ५,२०० मिटरको उचाइबाट रसुवागढीसम्मको २० किलोमिटर परको दूरीमा आयो, जुन २,००० मिटर भन्दा कम उचाइमा छ।"

 

के फाइदा?

उनका अनुसार स्यान्बूरीको उत्तरी भिरालो भाग, लाङटाङ हिमशृङ्खलामा सुरु भएको पहिरोदेखि रसुवागढीसम्मको उचाइको दूरी करिब तीन किलोमिटरभन्दा बढी थियो। त्यो उचाइबाट आएको बाढीको वेग १६५ किलोमिटर प्रतिघण्टा रहेको उनले बताए।

उनले १० करोड घटमिटरको हिमचट्टानले निम्त्याएको भूकम्पीय तरङ्गलाई जापानको हिरोसिमामा खसालिएको बमभन्दा केही मात्रै कम रहेको बताए।

"यस्ता हिमालबाट चट्टान खसेर आउने भेलबाढी र पहिराहरूले जुन भूकम्पीय तरङ्गहरू उत्पन्न गर्छन्, ती तरङ्गहरू भूकम्प मापन केन्द्रहरूसम्म आउन एकदमै थोरै समय, तीन/चार सेकेन्ड प्रतिकिलोमिटरको दरले आउने गर्छ्न।

ती तरङ्ग त्यति छिटो आउँदा अन्य बाढी नाप्ने यन्त्रउपकरणहरूबाट बाढीबारे थाहा पाउनुभन्दा पहिला नै हामी टाढा बसेर पनि थाहा पाउन सकिन्छ भन्ने यो अध्ययनमा पाइएको छ," उनले भने।

"त्यसैले हिमाली क्षेत्रमा हुने यस्ता ठूला घटनाहरूलाई ध्यानमा राखेर भूकम्पीय यन्त्रहरू प्रयोग गरेर पूर्वसूचना प्रणाली विकास गर्यौँ भने यसले धेरै छिटो यस्ता घटनाहरू पत्ता लगाउन सक्छ, जसले गर्दा तल्लो तटमा बसेका मानिसहरूलाई सूचना दिन सकिन्छ।"

बाढीले उत्पन्न गरेको कम्पन नदीबाट १०० किलोमिटरभन्दा टाढा रहेका भूकम्प नाप्ने यन्त्रहरूमा समेत धेरै घण्टासम्म रेकर्ड भएको अध्ययनमा उल्लेख छ।

त्यस्तै पहिरो सुरु हुनुभन्दा दुई साताअघिको अवधिमा ६०भन्दा बढी भूकम्पीय घटनाहरू रेकर्ड गरिएको अध्ययनले जनाएको छ। ठूलो विनाश गराउने पहिरो सुरुभन्दा १७ मिनेटअगाडि मात्रै पनि २.५ म्याग्निट्यूडको भूकम्प गएको अध्ययनमा उल्लेख छ। यो अध्ययनले भविष्यमा निम्तिन सक्ने बाढी र पहिरोका कारण तल्लो तटीय क्षेत्रमा हुने जनधनको क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अधिकारीहरू बताउँछन्।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ हाइड्रोलजिस्ट विनोद पराजुलीले यो अध्ययनले बाढीपहिरोजस्ता घटनाको प्रकृति कस्तो हुन्छ, कतिसम्म असर पुर्याउन सक्छ भन्ने जस्ता कुरामा स्पष्टता दिएको बताए। "विपद्को घटनाको प्रकृति, गति, प्रभाव, समयबारे यो अध्ययनले स्पष्टता दिएको छ।

पूर्वसूचना दिनका लागि आवश्यक पर्ने तापक्रम, सीसीटीभी सामग्री, पानीको सतहलगायत भूकम्पीय तरङ्गले पूर्वसूचना दिन सघाउ पुग्छ," हाइड्रोलजिस्ट पराजुलीले भने।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक तथा हिमनदीविज्ञ दिवस श्रेष्ठले यो अध्ययनलाई एउटा महत्त्वपूर्ण उदाहरणका रूपमा लिन सकिने बताए। "भविष्यमा आउने विपद्को जोखिमका लागि नेपाल मात्रै नभई विश्वकै लागि राम्रो केस स्टडी हो।

यस्तो खालको विपद् कुन स्तरको हुन सक्दो रहेछ भनेर राम्रो उदाहरण दिएको छ," उनले भने। "यसले भविष्यको जोखिम न्यूनीकरणलगायत पूर्वसूचना दिने प्रणालीमा सघाउ पुर्याउँछ।"  - बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार