किएभ, भदौ ।
रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा प्रमुख युरोपेली समर्थक राष्ट्र किएभमा भेला भएका छन् ।
बेलायत, फ्रान्स र जर्मनीका नेताले कोएलिसन अफ द विलिङ को बैठकमार्फत युक्रेनलाई सैन्य सहयोग बढाउने तथा रुसमाथि दबाब कायम राख्ने प्रयास गर्न लागेका हुन् ।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार सम्हालेपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका क्रममा किएभ पुगेर बैठकको सहअध्यक्षता गर्नेछन । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासहित अन्य नेताहरू पनि प्रत्यक्ष वा भर्चुअल रूपमा सहभागी हुने अपेक्षा गरिएको छ ।
रुसले पछिल्ला सातामा किएभलगायत युक्रेनी सहरमा ब्यालेस्टिक क्षेप्यास्त्रबाट आक्रमण बढाएको छ । अपार्टमेन्टलगायत नागरिक संरचनामा भएका आक्रमणमा दर्जनौँ मानिसको मृत्यु भएको छ ।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले प्रत्येक ठूला आक्रमणपछि थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रसँग आग्रह गर्दै आएका छन । युक्रेनले पनि रुसका रसद तथा ऊर्जा पूर्वाधारमाथि लामो दूरीका आक्रमण बढाएको छ ।
रुसी ई-कमर्स कम्पनी ओजोनका क्रास्नोडार र मखचकालास्थित गोदाममा आगलागी भएको कम्पनीले जनाएको छ । ड्रोन आक्रमणको जोखिमका कारण केही अन्य स्थलसमेत खाली गरिएको बताइएको छ ।
रुसी अधिकारीहरूले युक्रेनी ड्रोनको भग्नावशेष खस्दा दुई बालबालिकाको मृत्यु र नौ जना घाइते भएको जनाएका छन् । युक्रेनले सोमबार ३५औँ स्वतन्त्रता दिवस मनाइरहेको छ ।
किएभ पुग्नुअघि प्रधानमन्त्री बर्नह्यामले न्यायपूर्ण र स्थायी शान्ति कायम नभएसम्म बेलायत युक्रेनको साथमा रहने बताएका छन । युक्रेनको हवाई रक्षा क्षमता बढाउन बेलायतले एससीएएलपी क्षेप्यास्त्रको स्थानीय उत्पादन तथा संयोजनमा सहयोग गर्ने भएको छ ।
युक्रेन र फ्रान्सलाई आवश्यक वर्गीकृत जानकारी उपलब्ध गराउन रक्षा कम्पनी एमबीडीसँग सहमति भएको बेलायतले जनाएको छ । फ्रान्सले पनि नयाँ इन्टरसेप्टर क्षेप्यास्त्र उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । युक्रेनका लागि हवाई रक्षा चुनौती भने बढ्दो छ ।
रुसका ब्यालेस्टिक क्षेप्यास्त्र तीव्र गतिमा प्रहार हुने भएकाले तिनलाई रोक्न कठिन हुने बताइएको छ । युक्रेन मुख्यतः अमेरिकी प्याट्रियट इन्टरसेप्टरमा निर्भर रहँदै आएको छ ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार सन् २०२३ मा युक्रेनले ६७५ वटा प्याट्रियट इन्टरसेप्टर पाएकोमा सन् २०२५ मा ३६४ वटा र सन् २०२६ मा हालसम्म २६४ वटा प्राप्त हुने अनुमान छ ।
आगामी जाडोका लागि कम्तीमा ३०० वटा आवश्यक रहेको उनले भने । रुसले मासिक करिब १०० वटा ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन गर्न सक्ने उनको दाबी छ ।
अमेरिका इरानसँगको युद्धका कारण क्षेप्यास्त्र अभावमा रहेकाले युक्रेनलाई ठूलो सङ्ख्यामा इन्टरसेप्टर उपलब्ध गराउन कठिनाइ भइरहेको छ ।
यसैबीच, कोएलिसन अफ द विलिङ युद्धविरामपछि युक्रेनमा शान्ति सेना परिचालन गर्न इच्छुक देशको समूहका रूपमा सुरु भए पनि अहिले युक्रेनलाई सैन्य सहयोग जुटाउने र रुसमाथि दबाब बढाउने प्रमुख मञ्चका रूपमा विकसित भएको छ । एएफपी