मुगु, साउन।
लगातारको वर्षापछि आएको पहिरोका कारण नाग्मा- गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका - ८ स्थित झ्यारी खोलामा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छायानाथ रारा नगरपालिका वडा न ८ का स्थानीयवासी रतन रावलले जानकारी दिएका छन ।
सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ जाँदै गरेका यात्रुवाहक तथा मालवाहक सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् भने यात्रुले सास्ती व्यहोर्नुपरेको उनले बताए ।
पहिरो हटाउन प्रारम्भमा सानो जेसीपी प्रयोग गर्ने प्रयास गरिए पनि ठूलो परिमाणमा ढुङ्गा माटो खसेकाले सम्भव नभएको सडक डिभिजन कार्यालयका सुपरभाइजर जग्गी मल्लले जानकारी दिएका छन ।
मल्लका अनुसार मौसमले साथ दिएमा सडक सञ्चालनमा आउन अझै दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको छ।सडक अवरुद्ध भएसँगै मुगु आवतजावत गर्ने यात्रु तथा दर्जनौँ सवारी साधन प्रभावित भएका छन्।
यता जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार छिटोछरितो सडक सुचारु गर्ने छायानाथ रारा नगरपालिका वडा नं ७ को पिना चौकीका सुरक्षाकर्मी र निर्माण व्यावसायीको जेसीपीले पहिरो पन्छाउने काम गरेको छ।
उनले भने, “सम्बन्धित निकायले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा सडक सञ्चालनबारे आधिकारिक सूचना आएपछि मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन ।- गोरखापत्रबाट