२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

भोटेकोशी बाढी : ' नुवाकोटमा २ हजार ६९५ जना अझै बेपत्ता '

सोमवार , भाद्र २९, २०८३

 

नुवाकोट, भदौ ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण नुवाकोटका चार स्थानीय तह प्रभावित भएको छ। विदुर र बेलकोटगढी नगरपालिका र किस्पाङ, तारकेश्वर गापा प्रभावित भएको छ।

 

भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते बुधबार आएको प्रलयकारी बाढीले नुवाकोटमा हालसम्म २०२ वटा शव संकलन गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

जसमध्ये पहिचान भएका ३७ वटा शव सम्बन्धित परिवारको जिम्मा लगाइएको छ। भोटेकोशी बाढीपछिको नुवाकोटको पछिल्लो अवस्थाको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढीमा परेर स्वदेशी र विदेशी गरि २ हजार ६९५ जना अझै बेपत्ता रहेका छन्।

जसमध्ये विदेशी महिला १५४ जना, विदेशी पुरुष १ सय २० जना तथा बाँकी सबै नेपाली रहेका छन्।

भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीपछि नुवाकोटमा भएको क्षतिको अवस्था, खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन, सडक, पुल, तुइन, खानेपानीलगायतका पूर्वाधारको पुनर्उत्थान तथा पुनर्निर्माणको अवस्था सार्वजनिक भएको छ।

आइतबारसम्म विभिन्न स्थानमा कायम गरिएका २२ वटा आश्रित केन्द्रहरूमा ७३९ जना महिलासहित १ हजार ६१३ जना बसोबास गरिरहेका छन्।

काठ तथा बाँसको फड्के निर्माण भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते बुधबार आएको प्रलयकारी बाढीले नुवाकोट र रसुवाको सिमाना वेत्रवतीमा रहेको दुईवटा पक्की पुल एकैपटक बगाएपछि काठ र बाँसको फड्के निर्माण गरिएको छ। जसले गर्दा पैदल आवतजावतमा सुविधा पुगेको छ।

स्थानीयवासीको पहलमा नुवाकोट र रसुवा जोड्न वेत्रावतीमा आइतबार बेलुकीदेखि फड्के सञ्चालनमा ल्याइएको हो। बाढीका कारण पुल बगेर आवागमन ठप्प भएपछि स्थानीय बासिन्दाको सक्रियतामा विदुर नगरपालिका १० र उत्तरगया गापा ५ जोड्ने वेत्रावतीमा फड्के निर्माण गरी सञ्चालनमा ल्याइएको हो।

फड्के सञ्चालनमा आएपछि नुवाकोट रसुवा आवतजावतमा सहजता भएको छ। स्थानीयवासी, सेना, प्रहरी तथा सरोकारवालाको सहभागितामा आवतजावतकै लागि भए पनि अस्थायी रूपमा काठ र बाँसको प्रयोग गरी फड्के निर्माण गरिएको हो।

उक्त फड्के निर्माणसँगै मानिस तथा राहत सामग्रीहरू बोकेर लैजान सुविधा पुगेको छ। यसैबीच, ऐतिहासिक बेत्रावतीमा बेलिब्रिज निर्माण गरिने भएको छ।

नुवाकोट र रसुवा जोड्नको लागि बेत्रावतीमा ७० मिटर लामो बेलिब्रिज निर्माण गरिने भएको छ। त्यसको आवश्यक निर्माणसामग्री भारतले उपलब्ध गराउने भएको छ। भारतीय पक्षले बेलिब्रिज निर्माणका सामग्रीहरू हस्तान्तरण गरेको छ।

भारतीय राजदूत नवीन श्रीवास्तवले वेत्रावतीमा बेलिब्रिज निर्माणका लागि भारतबाट ल्याइएका पाटपुर्जाको पहिलो खेप सडक डिभिजनलाई हस्तान्तरण गरे।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि बाढीका कारण प्रभावित बनेको बेत्रावतीमा यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ। वीरगन्ज - गल्छी- देवीघाट - बेत्रावती- रसुवागढी त्रिदेशीय सडकमार्गको रूपमा विकसित गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार