वराहक्षेत्र, साउन ।
पहाडी क्षेत्रमा निरन्तर वर्षा भएपछि सप्तकोसी नदीमा आइतबार बिहानदेखि जलसतह उच्च हुँदै गएको छ । आइतबार बेलुका ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले कोसीमा पानीको बहाव २ लाख १५ हजार १३५ क्युसेक प्रतिसेकेन्ड मापन गरेको छ ।
यसअघि आइतबार दिउँसो ४ बजेको मापन अनुसार कोसी ब्यारेजमा २ लाख ९ हजार ८४० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको थियो ।
कोसीमा जलसतह बढेसँगै अहिले ब्यारेजका ५६ ढोकामध्ये २९ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमका कर्मचारी मनिषकुमार यादवले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
ब्यारेज कन्ट्रोल रुमका अनुसार आइतबार बिहान कोसीको बहाव १ लाख ७६ हजार ३०५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । यो वर्षको वर्षायाम सुरु भएयता आज नदीमा सबैभन्दा उच्च जलसतह मापन गरिएको हो ।
पहाडी जिल्लाहरूमा भारी वर्षा जारी रहेकाले कोसी नदीमा पानीको बहाव लगातार बढ्दो क्रममा रहेको छ । कोसी नदीमा पानीको सतह उच्च भए पनि यो समाचार तयार पार्दासम्म नदीले पूर्वी तटबन्धमा कुनै क्षति पुर्याएको छैन ।
मधुवन, राजावास, प्रकाशपुरलगायतका पूर्वी तटबन्ध क्षेत्रमा हालसम्म कुनै खतरा नरहेको प्रशासनले जनाएको छ ।