इनरुवा, पुस । सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुधबार राति सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरीटोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको विरोधमा स्थानीय पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
गोली हान्ने दोषी अपराधी वा सशस्त्र प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयले सडकमा साहको शव राखेर प्रदर्शन गरिराखेका छन् । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् भने भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको छ ।
शवसहित अटो घटनास्थलमा रहेको र अन्दाजी १००/१२० जनाको संख्यामा स्थानीयहरु भेला जम्मा भएका थिए । उक्त स्थानमा नं ४ गणबाट सप्रनाउको कमाण्डमा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।
बिहान ०८:३५ बजे अन्दाजी १५०/१६० जनाको संख्यामा भीड घटनास्थलबाट बीओपीको मेनगेटमा आई ढुङ्गामुढा गर्दा बीओपीमा रहेको सप्रनिको रिजर्भ टोलीले २ सेल ग्याँस फायर गरी तितरबितर गराएको थियो ।
बिहान ०९:३५ बजे शवलाई घटनास्थलबाट पिकअप गाडीमा राखी लौकही चोकमा पुर्याई अन्दाजी ७०० जनाको संख्यामा भेला जम्मा भई पूर्व पश्चिम लोकमार्ग पूर्ण रुपमा बन्द गरेका छन् ।