२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

रौतहटबाट भागेका कैदीबन्दी : 'सम्पर्कमा नआए थप पाँच वर्ष कैद'

मंगलवार , भाद्र ३१, २०८२

 

चन्द्रपुर (रौतहट), भदौ। कारागार कार्यालय गौर रौतहटबाट भागेका कैदीबन्दी आफै सम्पर्कमा नआए तोकिएको सजायमा थप ५ वर्ष कैद सजाय हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले मघङ्गलबार सूचना प्रकाशन गर्दै भदौ २४ गते कारागार कार्यालय गौर, रौतहटबाट भागि फरार भएका कैदीबन्दीहरु कतिपय सम्पर्कमा आएको र अन्य कैदीबन्दी सम्पर्कमा नआएको हुँदा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालय गौर, रौतहटमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रहरी वा कारागार कार्यालयको सम्पर्कमा नआई भागेकालाई कारागार ऐन २०७९ को दफा ४९ को (ग) बमोजिम तोकिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

जेनजी प्रदर्शनको क्रममा सुरक्षा व्यवस्था फितलो हुँदा कारागार कार्यालय गौरबाट भदौ २४ गते राति २६० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीमध्ये २११ जना अझै फरार रहेको कारागार कार्यालय गौरका प्रमुख मनीष झाले जानकारी दिए ।

भदौ २४ पछि कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले गरिरहेको छ । कारागार कार्यालय कै सुरक्षा प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटले गौरमा पूर्वमा नेपाल लज, पश्चिममा गौर घन्टाघर, उत्तरमा कृषि ज्ञान केन्द्र र दक्षिणमा जुद्ध उच्च मावि सम्म निषेधाज्ञा जारी राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार