काठमाडौँ, असार । नेपाली कांग्रेसले सरकारलाई बाढी पहिरो पीडितको खोज तथा उद्धार र प्रभावितलाई बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन ।
मुख्य सचिव पौडेलले प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन पनि बिज्ञप्तिमार्फत सरकारसँग आग्रह गरेका छन् ।
बिज्ञप्तिमा भनिएको छ, 'अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी दर्जनौं नागरिकले ज्यान गुमाइसकेका छन्, ठूलो संख्यामा नागरिकहरु घाइते भएका छन्, कतिपय अझै वेपत्ता छन्, धेरैको संख्यामा विस्थापित हुन पुगेका छन्, खेतीयोग्य जमीनमा क्षति पुगेको छ, देशभरकै सडक सञ्जाल अवरुद्ध भएका छन्, यात्रुहरु अलपत्र परेका छन् । यसबाट उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको छ ।'
'सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस सहानुभूति प्रकट गर्दछ,' मुख्यसचिव पौडेलले भनेका छन्, 'यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनवटै तहका सरकारहरुले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न नेपाली कांग्रेस आग्रह गर्दछ ।'
कांग्रेसले प्रभावित जिल्लामा रहेका पार्टीका नेता कार्यकर्ता र भ्रातृ एवं शुभेच्छुक संस्थालाई एक आपसमा समन्वय गरी पीडितहरुको उद्धार र राहतमा सहयोग पुर्याउन आह्वान गरेको छ ।