२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

मुगुमा भारी वर्षा : ' चिसो बढ्यो, जनजीवन कष्टकर '

शनिवार , कार्तिक १५, २०८३

 

मुगु, कात्तिक ।

मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ ।

गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८स्४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९.८ मिलिमिटर वर्षा भएको छ ।

 

आज बिहान ८ः४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको केन्द्रका अवलोकनकर्ता नम्रता मल्लले जानकारी दिए ।

मौसममा आएको परिवर्तनसँगै तापक्रम घटेपछि सर्वसाधारणका साथै बालबालिका, वृद्धवृद्धा तथा बिरामी बढी प्रभावित भएका उनको भनाइ छ ।

निरन्तर वर्षाका कारण जिल्लाको हवाई सेवा तथा सडक मार्गसमेत प्रभावित भएका मल्लले बताए । वर्षाका कारण बजार तथा ग्रामीण बस्तीमा चहलपहल घटेको छ ।

हिमपातले मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने डोल्फु, मुगु, ताखा, खारी, दाउरा, पुअ, सेरोग, किम्ग्री मह, माङ्री, पाँपु, चिमात गाउँ बढी प्रभावित भएका छन् । यी क्षेत्रमा बढी हिउँ र पानी परेकाले अत्यधिक चिसो बढेको केन्द्रका अवलोकनकर्ता मल्लले बताए ।

हिमपात र वर्षाले एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न, बस्तुभाउ चराउन समस्या भइरहेको स्थानीय फुर्वा फुटिक लामाले बताए ।

मुगुका अग्ला हिमाल, बस्तीहरूमा हिउँ परेको छ भने होचो स्थानमा शुक्रबार साँझदेखि वर्षा भइरहेको केन्द्रले जनाएको छ ।

वर्षा र हिमपातको समयमा अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा बस्न, अनावश्यक आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय मुगुले शुक्रबार सूचना जारी गरी सबैमा अनुरोध गरेको छ ।

जिल्लामा वर्षा र हिमपात भइरहेको भए पनि हालसम्म कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार