२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालमा मासुको खपत

वर्षमा कति मासु खान्छन् नेपालीले   :  "  अनि मासु कसरी खाने, कसरी नखाने ? "

मासु खानु किन आवश्यक ?

शुक्रवार , कार्तिक १०, २०८०

छिल्ला वर्षमा नेपालमा पहिलेको दाँजोमा उपभोग्य मासुको उत्पादन र खपत बढ्दै गएको अधिकारी तथा व्यवसायीले बताएका छन्। उनीहरूका भनाइमा पछिल्लो समयमा औसत नेपालीहरूको आयमा देखिएको वृद्धिसँगै मासुको उपभोग पनि निकै बढेको हो।अन्य पशुपन्छीको तुलनामा कुखुराको मासुको खपत निकै बढेको उनीहरू बताउँछन्।

पोषणविद्‌का भनाइमा नेपालीको प्रोटिनको मुख्य स्रोतको रूपमा मासु रहँदै आएको छ। कुखुराको मासु तथा अण्डाका लागि नेपाल लगभग आत्मनिर्भर भए पनि केही मात्रामा मासु आयात पनि हुने गरेको सरकारी विवरणले देखाउँछन्।


मासु खानु किन आवश्यक ?
शरीरलाई चाहिने पौष्टिक तत्त्व पूरा गर्न मासु खानु आवश्यक रहेको पोषणविद्‌को भनाइ छ। राजधानीको एउटा निजी अस्पतालमा कार्यरत पोषणविद् चित्रकला नेपाल भन्छिन्, “दैनिक रूपमा सिफारिस गरिए बमोजिम मासु खाने हो भने त्यसले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ तर त्यसलाई सही र स्वस्थ तरिकाले पकाएर खानुपर्छ।”

“मासुमा अन्न वा विरुवाबाट आउने प्रोटिनभन्दा शरीरलाई चाहिने सबैखाले प्रोटिन र खनिज तत्त्व पाइन्छ।” उनका भनाइमा मासुमा भिटामिन र चिल्लो पदार्थ पनि पाइने भएकाले यो निकै पोषिलो हुन्छ।

कुपोषण भएकाहरूको वजन बढाउन तथा शल्यक्रिया गरेकाहरूको घाउ चाँडो निको पार्न मासुले मद्दत गर्ने उनी बताउँछिन्। सन्तुलित आहारका लागि मासु निकै महत्त्वपूर्ण रहेको नेपालको भनाइ छ। उनी दशैँका बेलामा अधिक मासु सेवन गर्ने र त्यो पनि अस्वस्थकररूपमा खाने चलन रहेको बताउँछिन्।

“त्यसले चाहिँ हाम्रो शरीरलाई फाइदा भन्दा हानी नै धेरै गर्छ,” उनले भनिन्। मासुमा ‘ट्रान्सफ्याट’ धेरै हुने भएकाले त्यस्तो बोसो शरीरमा टाँसिएर बस्ने र त्यसले विभिन्न दीर्घ रोगसमेत निम्त्याउन सक्ने उनको भनाइ छ।

पोषणविद्हरूले दैनिक ५० ग्रामभन्दा बढी मासु नखान सुझाउने गरेका छन् भने त्यो पनि बफाएर वा सामान्य रूपमा पकाएर खान सुझाव दिन्छन्।

विशेष गरी पोलेर खाइने र मदिरासँग मासु खाँदा त्यसले शरीरलाई अत्यन्त हानी गर्ने पोषणविद् नेपालले बताइन्।


मासु खपतको अवस्था : 
नेपालीहरूको आयस्तर बढेसँगै मासुको माग र खपत ह्वात्तै बढेको जानकारहरू बताउँछन्। पहिले क्रयशक्ति कम हुँदा नेपालीहरूले विशेष दिनहरूमा मात्र मासु खाने गरेकामा अहिले आफूलाई मन लागेको बेलामा मासु खानसक्ने अवस्था बनेको देखिन्छ।

यद्यपि सहरी क्षेत्रमा त्यस्तो देखिए पनि ग्रामीण क्षेत्रमा अझै मासु खान विशेष दिन वा अवसर नै कुर्नुपर्ने अवस्था रहेको जानकारहरू बताउँछन्।

नेपालमा सबैभन्दा धेरै मासुको खपत हुने समय दशैँ- तिहारजस्ता चार्डपर्व भएको बताइन्छ। व्यवसायीहरूले बताएअनुसार दशैँका बेला मात्रै काठमाण्डू उपत्यकामा करिब १० लाख किलो खसीको मासु खपत अनुमान छ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बीसीका भनाइमा नेपालमा अहिले दैनिक रूपमा करिब आठ लाख किलो कुखुराको मासु खपत हुन्छ।

त्यसमध्ये करिब पाँच लाख किलो काठमाण्डू उपत्यकामा मात्र हुने उनको भनाइ छ।


नेपालमा मासु उत्पादन :
आर्थिक सर्वेक्षण २०७९/८० को विवरण अनुसार नेपालमा गत वर्ष करिब साढे तीन लाख मेट्रिक टन मासु उत्पादन भएको थियो।यद्यपि आर्थिक वर्ष २०७८/७९ मा नेपालमा मासुको उत्पादन ५ लाख १२ हजार मेट्रिक टन भएको थियो।

हाल नेपालमा उत्पादन र खपत हुनेमध्ये सबैभन्दा धेरै मासु कुखुराको भएको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा. चन्द्र ढकालले बताए।

सरकारी विवरण अनुसार करिब २० वर्षअघिसम्म नेपालमा कुखुराको भन्दा राँगारभैँसीको मासु धेरै उत्पादन हुने गर्थ्यो। तर नेपालमा व्यावसायिक कुखुरापालन बढेसँगै कुखुराको मासु उत्पादन ह्वात्तै बढ्न थाल्यो।

त्यसले गर्दा अहिले नेपालमा उत्पादन र खपतका हिसाबले कुखुराको मासु सबैभन्दा अगाडि देखिएको छ।

ढकालका भनाइमा अहिले नेपालमा उत्पादन हुने कुल मासुमध्ये कुखुराको ४० प्रतिशतभन्दा बढी हुने गर्छ भने राँगा र भैँसीको करिब ३७ प्रतिशत रहेको छ।

त्यस्तै खसीको १४ प्रतिशत र बङ्गुरको ७ प्रतिशत रहेको उनले जानकारी दिए।


मासु उत्पादनको तथ्याङ्क  : 

e27e2130-61f6-11ee-8c41-6b45927f204c.jpg

कुखुराको मासुतर्फ आकर्षण
अध्यक्ष बीसीका भनाइमा नेपालमा पहिले खसी तथा राँगारभैँसीको मासुको माग धेरै थियो। तर अहिले कुखुराको मासुको माग धेरै देखिएको छ। त्यसका मुख्यतः तीनवटा कारणहरू रहेको व्यवसायी र अधिकारीहरू बताउँछन्।

पहिलो कारण भनेको स्वास्थ्यका दृष्टिले रातो मासुको तुलनामा सेतो मासु लाभकारी हुने कुरा नेपालीहरूले बुझ्दै जानु रहेको उनीहरूको भनाइ छ।

त्यस्तै दोस्रो कारण अन्य मासुको तुलनामा कुखुराको मासु सस्तो हुनु हो भने तेस्रो कारण रेस्टुराँ तथा होटलका मेन्यूमा कुखुराको मासुबाट बन्ने परिकार धेरै हुनु हो।

“अहिले तपाईँ जुनसुकै रेष्टुराँमा जानुस् चिकेन आइटम १० वटा छ भने अन्य आइटम त्यो भन्दा कमै हुन्छ,” बीसी भन्छन् विश्वव्यापी रूपमै उत्पादन र खपतका हिसाबले कुखुराको मासु धेरै हुने गरेको विवरण पाइन्छ।

संयुक्त राष्ट्र सङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २०२१ देखि २०३० सम्मका लागि गरेको कृषि प्रक्षेपण प्रतिवेदनमा भनेको छ, “कुखुराको मासु उत्पादन वृद्धिको मुख्य माध्यम बनेको छ र त्यो जारी रहनेछ। यद्यपि गत दशकको तुलनामा आगामी दशकमा त्यसको वृद्धिदर सुस्त हुँदै जाने प्रक्षेपण छ।”

अन्य पशुपन्छीको मासु उत्पादन चरणका तुलनामा कुखुराको मासु उत्पादन चाँडै हुने भएकाले पनि त्यसतर्फ आकर्षण बढेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यसमा भनिएको छ, “मासु उपभोग कुखुरातर्फ सरेको छ। यसले कम आय भएका विकासशील देशहरूमा अन्य मासुको तुलनामा कुखुराको मासुको भाउ कम हुनु कारण रहेको देखाउँछ भने उच्च आय भएका देशहरूमा उपभोक्ताको सेतो मासुप्रति बढ्दो लगावलाई यसले सङ्केत गर्छ। त्यस्तो मासुलाई पकाउन पनि सहज हुन्छ र स्वस्थकर खानाको विकल्पमा लिने गरिन्छ।”

विश्वव्यापी रूपमा सन् २०३० सम्ममा कुखुराको मासुले सबै स्रोतहरूबाट प्राप्त हुने प्रोटिनमध्ये ४१ प्रतिशत हिस्सा ओगट्ने एफएओको प्रक्षेपण छ।

त्यसपछि विश्वव्यापी रूपमा दोस्रोमा सुँगुरको मासुको हिस्सा ३४ प्रतिशत, बिफको हिस्सा २० प्रतिशत र भेडाको मासुको हिस्सा ५ प्रतिशत हुने प्रक्षेपण उसले गरेको छ।


पशुपन्छीको सङ्ख्या 

c04c77b0-61f6-11ee-bf62-3360c46602f9.jpg
undefined

राष्ट्रिय कृषि गणना- २०७८ ले नेपालमा मासुको लागि पालिने पशुपन्छीको पनि विस्तृत विवरण सङ्कलन गरेको छ।

उक्त गणना अनुसार नेपालमा साढे चार करोड कुखुराको सङ्ख्या छ।

त्यस्तै खसीबोकाको सङ्ख्या १ करोड ४२ लाख रहेको छ भने १४ लाख सुँगुर र बङ्गुररबदेल रहेका छन्।

उनन्तीस लाख राँगा र भैँसी रहेको नेपालमा सात लाख ७० हजार भेडा छन् भने हाँसको सङ्ख्या ६ लाख रहेको छ।

यद्यपि पशुसेवा विभागले नेपालमा राँगारभैँसीको सङ्ख्या ५१ लाखको हाराहारीमा रहेको विवरण सार्वजनिक गरेको छ।


स्वस्थ व्यक्तिका लागि चाहिने मासुको मात्रा : 
एफएओले एकजना व्यक्तिले स्वस्थ रहन प्रतिवर्ष कति किलो मासु खानुपर्छ भन्ने न्यूनतम मापदण्ड तोकेको डा. ढकाल बताउँछन्। उनका भनाइमा एउटा स्वस्थ व्यक्तिका लागि एफएओले प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो मासु खपत हुनुपर्ने मापदण्ड तोकेको छ।

नेपालमा त्यो मापदण्ड पूरा भइसकेको देखिन्छ। यहाँ उत्पादित सबै मासु र माछालाई जोडेर त्यसलाई कुल जनसङ्ख्याले भाग गरी त्यस्तो विवरण निकालिएको ढकाल बताउँछन्।

यद्यपि त्यसमा आयात भएको मासुको विवरण समावेश छैन भने जनगणनालाई आधार मान्दा विदेशमा रहेका नेपालीको सङ्ख्या समेत जोडिन पुग्छ।

त्यसको अर्को पक्ष भनेको माछा वा मासु किन्न नसक्ने आय भएका मानिसहरूको कसरी गणना हुन्छ भन्ने स्पष्ट छैन। त्यसैले कतिपयले उक्त सरकारी दाबीलाई वैज्ञानिक मान्ने गरेका छैनन्।

सरकारी विवरण अनुसार अहिले नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष २१ किलो माछारमासु खपत हुने गरेको छ।

त्यस्तै एफएओले प्रतिव्यक्ति प्रतिवर्षका लागि ९१ लिटर दूधको न्यूनतम मात्रा तोकेकोमा नेपालमा ८७ लिटर पुगेको छ भने प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा तोकिएको अण्डाको सङ्ख्या नेपालमा पनि त्यत्ति नै रहेको ढकाल बताउँछन्।

42725dd0-6293-11ee-bf62-3360c46602f9.jpg
undefined

विश्वव्यापी रूपमा मासु उत्पादनको अवस्था :

संयुक्त राष्ट्रसङ्घीय निकाय फुड एन्ड एग्रीकल्चर अर्गनाइजेशन (एफएओ) को मिट मार्केट रिभ्यू - अनुसार अन्तर्राष्ट्रिय रूपमा मासुको मूल्य सन् २०२२ को जुन महिनामा हालसम्मकै उच्च भएको थियो।

त्यसबेला विश्वव्यापी आपूर्तिमा कठिनाइ भएकाले पनि मूल्य आकासिएको थियो।

उक्त प्रतिवेदन अनुसार विश्वव्यापी मासु उत्पादनमा उक्त वर्ष मध्यम विस्तार हुने अपेक्षा गरिएको थियो। त्यसको कारणका रूपमा एफएओले पशु रोग, बढ्दो लागत र चरम मौसमी घटनालाई औल्याएको छ।

एफएओका अनुसार सुँगुरको मासु आयातमा देखिएको सङ्कुचन र आर्थिक मन्दीले गर्दा आगामी दिनमा विश्वमा मासुको व्यापार घट्ने सम्भावना छ।

एफएओका अनुसार गत वर्ष ३६ करोड मेट्रिक टन मासु उत्पादन हुने प्रक्षेपण गरिएको थियो। बर्सेनि मासुको उत्पादन र माग बढिरहेको र त्यो क्रम जारी रहने उसको प्रक्षेपण छ।

विश्वव्यापी रूपमा ४ करोड ४० लाख मेट्रिक टनले विस्तार भएर सन् २०३० सम्ममा मासुको उत्पादन वार्षिक ३७ करोड ३० लाख मेट्रिक टन पुग्ने ठानिएको एफएओका प्रतिवेदनेहरूमा उल्लेख गरेको पाइन्छ।

अहिले पनि चीन विश्वको सबैभन्दा धेरै मासु उत्पादन गर्ने देश रहेको छ र त्यो निरन्तर केही समय रहने प्रक्षेपण गरिएको छ।


 बीबीसी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार