२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन 

तराईका मतदाता भन्छन : " जितेपछि त नेताहरूको मुख हेर्न नि पाइँदैन ! "

सोमवार , कार्तिक २८, २०७९

 

वीरगञ्ज, कात्तिक । आगामी मंसिर ४  मा प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा उमेद्वारी दिएका दलका नेताहरु  हरेक दिन गाउँ गाउँमा चुनावी कार्यक्रम गरेर मतदातालाई आफ्नो पक्षमा तान्न  मेहनत गरिरहेका देखिन्छन्। तर दलहरू जति उत्साहित देखिन्छन् मतदाता भने देखिँदैनन्। चुनाव जितेकाले आफ्नै ‘दुनो सोझ्याउने काम मात्र’ गरेको गुनासो मतदाताको छ।

बीबीसीका अनुसार, चुनाव अघि विकास निर्माणका आश्वासन बाँड्ने नेताहरू निर्वाचित भएपछि पाँच वर्ष सम्म अनुहार देखाउन समेत नआउने गरेको महिला मतदाताको गुनासो छ।

“जितेपछि त नेताहरूको मुख हेर्न नि पाइँदैन, जितेपछि भोलि देखी नै गाउँमा काम सुरु हुन्छ भन्छन् तर पाँच वर्ष बितिसक्यो केही राम्रो विकास अनुभूत गर्न सकिएन,” रौतहटकी ४६ वर्षिया सीमा देवीले भनिन्।
“नाला छैन, सडक छैन, स्वास्थ्य चौकीमा जरुरी परेको बेला निःशुल्क औषधी समेत पाइन्न, नेताहरूले हाम्रो भोटको कदर नै गरेनन्, हाम्रा दुःख जहाँका त्यहीँ छन्, त यसपालि सोचेर मात्रै विकास गर्ने र गरिबलाई हेर्नेलाई भोट दिनेवाला छु।”
पर्साकी ३५ वर्षिया प्रमिला राम पनि गाउँमा सबैलाई सहज हुने गरी विकास गर्ने नेताहरूको आश्वासन, चुनावमा मात्रै सीमित हुँदै आएको गुनासो गर्छिन् ।
“यो भन्दा पहिलेको चुनावमा गाउँमा धर्मशाला बनाइदिन आग्रह गर्‍यौँ नेता जीले जितेको भोलि पल्टदेखि नै काम सुरु भइहाल्छ भन्नु भयो तर उहाँ जितेर गएको पाँच वर्ष बितिसक्यो अहिले सम्म केही भएन, अहिले फेरि त्यही नेता जी भोट माग्न आइरहनु भएको छ,” उनको गुनासो छ।

मत माग्दै नेताहरू
बाराको परवानीपुरकी सोनमती देवी गाउँमा भोट माग्न आउँदा वर्षौँ(वर्षको चिनजान भएको जस्तो अपनत्व देखाउने उम्मेदवारले जितेपछि “गुहार माग्न जाँदा चिन्दिन” भन्ने प्रवृत्ति रहेको गुनासो गरिन्।

“गाउँभरिमा एउटा मात्रै स्कुल छ, तर राम्रो पढाइ नहुँदा बालबच्चाको भविष्य बिग्रिरहेको छ, हामी दलितका लागि हेरिदिने कोही नेता छैनन्,” उनले भनिन्। पर्सा विन्दवासिनी ७० वर्षीय हरि शंकर प्रसाद गाउँले किसानहरूलाई चुनावले नछोएको बताउँछन्।

“खेती किसानीका लागि खाद, सिँचाई सबै महँगो भइसक्यो। देशमा राजा भएको पालामा सबै चिज सस्तो थियो। हामी खुसी थियौँ र आफ्नो परिवारसँग खुसी खुसी बस्थ्यौँ । तर अहिले परिवारका छोरा विदेश ,कोही कमाउन अन्तै जिल्ला छन्। परिवार टुहुरो जस्तो बस्नुपरेको छ। के यही हो त विकास,” उनको प्रश्न छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार