२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

नेकपा एमाले

चुनावी  घोषणापत्र  सार्बजनिक :  " २० ‘ग्यारेन्टी’, २४७ प्राथमिकता "

मंगलवार , कार्तिक १५, २०७९


काठमाडौँ, कात्तिक । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक गरेका हुन । 
उक्त घोषणापत्रमा एक गन्तव्य, एक राष्ट्रिय आकाङ्क्षा, चार सङ्कल्प, पाँच वर्ष, २० ‘ग्यारेन्टी’, ३० कामका क्षेत्र, २४७ प्राथमिकता, ४१ महिना र ८२ वटा ‘माइलस्टोन’ उल्लेख गरिएको छ ।  
एमालेले मुलुकको समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने, ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन, स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने र सबैका लागि काम र नियमित कमाईको सुनिश्चितता गर्ने ग्यारेन्टी गरेको छ । 
एमाले सरकार गठन भएपछि ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन, ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरणको सुनिश्चित गर्ने, सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति गर्ने, खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनीको मान्यता अघि बढाउने, सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, व्यवस्थित सहरः स्वच्छ र हरियाली वस्तीको अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ । 
सरल, सहज सार्वजनिक सेवाको प्रबन्ध गर्ने, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने, सबै नागरिकलाई वित्तीय पहुँच स्थापित गर्ने, स्वस्थ महिनावारी सुरक्षित मातृत्वको नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, सभ्य समाजः मर्यादित नागरिकको नीति कार्यान्वयन गर्ने र प्रतिव्यक्ति आय दोब्बर गर्ने एमालेको प्रतिबद्धता छ । 

एमालेले यसअघिको ४१ महिना सरकारको नेतृत्व गर्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा हासिल गर्न जनपक्षीय काम गरिएको दाबी गरेको छ । सो अवधिमा संविधानले प्रत्याभूत गरेका मौलिक हक कार्यान्वयन गर्ने १६ सहित ८९ वटा नयाँ कानुन तर्जुमा, प्रदेश र स्थानीय तहको कार्यसञ्चालनका लागि ५० भन्दा बढी नमूना कानुन निर्माण, श्रमिकको आधारभूत पारिश्रमिकमा पाँच हजार तीन सय वृद्धि तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरिएको एमालले जनाएको छ । 
एकचालीस महिनामा भौतिक तथा आर्थिक विकासले तीव्र गति लिएको एमालेको दाबी छ । सो अवधिमा प्रतिदिन पाँच किलोमिटर सडक कालोपत्रे, प्रतिदिन १२ भवन निर्माण, प्रतिदिन एक झोलुङ्गे पुल निर्माण, हरेक दोस्रो दिन सरदर कम्तीमा एक सडक पुल र तेस्रो दिन ग्रामीण पुल निर्माण भएको एमालेको घोषणापत्रमा उल्लेख छ । 
ओली नेतृत्वको सरकारले निरपेक्ष गरिबीको रेखामुनिका जनसङ्ख्या २१.६ प्रतिशतबाट १८.७ प्रतिशतमा झारेको, बुहआयामिक गरिबीको सूचकाङ्क ३०.१ बाट १७.४ मा झारेको, पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि रु दुई अर्ब ३५ करोड ढुवानी खर्च जोगिएको, आयात १२.१ प्रतिशतले घटेको र निर्यात ४.५ प्रतिशतले बढेको, कूल गार्हस्थ्य उत्पादनको अनुपातमा व्यापार घाटा नौ प्रतिशतले घटाएको एमालेले दाबी गरेको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार