केतपाईं मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ ? दिँदै हुनुहुुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुभएको छ ?
मनोनयन पत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यता सम्बन्धी विद्यमान कानूनको व्यवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्नुहोला ।
निर्वाचन आयोगको निर्वाचनको कार्यक्रम अनुसार यही असोज २३ गते आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ बमोजिम कुनै व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नेपालको नागरिक भएको, प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।
यस्तै २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानूनले अयोग्य नभएको र निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ । विद्यमान कानूनले उम्मेदवारीको अयोग्यता सम्बन्धी पनि व्यवस्था गरेको छ ।
निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको व्यक्ति अयोग्य हुनेछ ।
यस्तै सङ्गठित अपराध सम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाह सम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको हुनुपर्नेछ ।
यस्तै अन्य कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको र प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकाले उम्मेदवारी दिन पाउने छैनन् ।
यस्तै कैदमा बसेको भए अवधिभर, नेपालको संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको र मानसिक सन्तुलन ठीक नभएको व्यक्ति अयोग्य हुनेछ । यी व्यवस्थाबारे आयोगले सार्वजनिक सूचना दिइरहेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा सो विषयमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी दिन सकिने व्यवस्था छ ।
यसरी उजुरी परेको मनोनयन पत्र र दर्ता भएका मनोनयन पत्र जाँच गर्दा कानून बमोजिम उम्मेदवार हुनका लागि आवश्यक योग्यता पूरा नगरेको र अयोग्यता रहेको भएमा सम्बन्धित निर्वाचन अधिकृतबाट त्यस्तो उम्मेदवारी बदर हुनेछ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ बमोजिम उम्मेदवारी मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने विषयमा प्रमाणसहित निर्वाचन अधिकृतमार्फत आयोगसमक्ष उजुरी दिन सकिनेछ ।
उक्त उजुरीमाथि जाँचबुझ गर्दा मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारको कानून बमोजिम योग्यता पूरा गरेको नदेखिएको र अयोग्य रहेको पाइएमा आयोगबाट त्यस्ता मनोनयन बदर गरिने हुनाले योग्यता र अयोग्यताका सम्बन्धमा राजनीतिक दल र उम्मेदवार आफैँले यकीन गरी मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ ।