काठमाडौँ, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।
उनले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताए ।
त्रिचालिसौँ सामाजिक सुरक्षा दिवस मूल समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार गैरसरकारी सङ्घ संस्थासँग समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन । उनले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिएका छन ।
प्रधानमन्त्री देउवाले सामाजिक सङ्घसंस्थाहरू नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक रहेको भन्दै परिषद्लाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सामाजिक सेवाभावको पवित्र उद्देश्यले स्थापना भएको समाज कल्याण परिषद्ले बहुआयामिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको थप्दै उनले भने, सामाजिक सङ्घसंस्थालाई देश र समाजप्रति उत्तरदायी बनाएर नतिजामुखी हिसाबले सञ्चालन गर्नु आवश्यक छ ।
उनले थपे, “समाजसेवा पवित्र र पूण्य कार्य हो । समाजका दिनदुःखी अशक्त र सामाजिक आर्थिक दृष्टिकोणले पछि परेका वर्ग, समुदायको उत्थान र विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको छ, यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउन जरुरी छ ।”
प्रधानमन्त्री देउवाले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउनुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए ।
जुन उद्देश्यले सामाजिक संस्था स्थापना भएका छन्, आर्थिक पारदर्शिता अपनाएर सहर केन्द्रितभन्दा पनि दुर्गम गाउँसम्म पुगेर जनताको सेवामा सक्रिय हुनुपर्नेमा उनको जोड थियो ।