२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक छलफल

सांसद आचार्यले भने : ' प्रतिपक्षका राम्रा सुझाव सरकारले मान्नुपर्छ '

सोमवार , जेठ ४, २०८३

 

काठमाडौँ, जेठ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले प्रतिपक्षको रचनात्मक र आवश्यक सुझावलाई सरकारले अस्वीकृत गर्ने विषय उदेकलाग्दो रहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आचार्यले प्रतिपक्षले पनि सरकारले ल्याएको राम्रो नीति तथा कार्यक्रमलाई पनि कर्मकाण्डी भनेर विरोध गर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी नियमावली बनाउनुपर्ने बताए ।

संसद्मा सत्तापक्ष र प्रतिपक्ष एकले अर्काको जस्तोसुकै राम्रो प्रस्तावलाई पनि  अस्वीकार गर्ने गलत भाष्यको अन्त्य हुनुपर्ने पनि बताए ।  सत्तापक्षको अवस्था पनि उदेक लाग्दो छ ।

प्रतिपक्षले जतिसुकै रचनात्मक र आवश्यक संशोधन किन नराखोस्, त्यसको गुण र दोषमाथि सार्थक छलफल नगरी ती हुबहु अस्वीकृत हुन्छन् ।

प्रतिपक्षको संशोधन स्वीकार गर्दा सरकारको दस्तावेज बिटुलो हुन्छ भन्ने जुन एउटा अघोषित र गलत भाष्य यहाँ स्थापित छ । अब त्यसलाई तोड्नुपर्दछ, उनले भने ।

कानुन निर्माण र जनजीविकाको सवालमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले दलीय चश्मा फुकालेर गुण र दोषको आधारमा निर्णय गर्न सक्ने पद्धति नियमावलीले समेट्नुपर्ने पनि उनको भनाइ छ ।

सांसद आचार्यले कानुन निर्माण र जनजीविकाको सवाललाई दलीय आधारमा नभई गुण र दोषको आधारमा निर्णय गर्न सक्ने गरी संसदलाई अघि बढाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार