२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज गणेश चतुर्थी र सप्तऋषिको पूजा आराधना गरिँदै

मंगलवार , भाद्र ३०, २०८३

काठमाडौँ, भदौ। आज  देशभर हिन्दू धर्मावलम्बीले गणेशको पूजा तथा सप्तऋषिको आराधना गरी यी पर्व मनाउँदै छन् । ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजाआराधना गर्ने धार्मिक परम्परा छ ।

महिलाहरूले बिहानै उठेर नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई स्नान गर्ने र त्यसपछि विधिपूर्वक सप्तऋषिको पूजा गर्ने चलन छ । स्नानपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ । सप्तऋषिको पूजा गर्ने भएकाले भाद्र शुक्ल पञ्चमीलाई ऋषिपञ्चमी भनिएको धार्मिक मान्यता छ ।

यस दिन महिलाहरूले आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार व्रत तथा पूजाआराधना गर्ने गर्छन् । ऋषिपञ्चमीको अवसरमा काठमाडौँको टेकु, देशभरका ऋषेश्वर मन्दिरमा बिहानैदेखि महिला भक्तजनको घुइँचो लागेको छ । विभिन्न स्थानमा नदी, खोला तथा जलाशयमा स्नान गर्ने र मन्दिरमा पुगेर सप्तऋषिको पूजा गर्ने महिलाको भीड देखिएको छ ।

यस वर्ष गणेश चतुर्थीका अवसरमा गणेश मन्दिरमा समेत बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । भगवान् गणेशको पूजा, आराधना तथा दर्शन गरी सुख, शान्तिको कामना गरिरहेका छन् । भाद्रशुक्ल द्वितीयाका दिन आइतबार दर खाएसँगै यस वर्षको तीज पर्व शुरू भएको थियो । भाद्रशुक्ल तृतीयाका दिन महिलाले निराहार तथा फलाहार व्रत बसेर भगवान् शिवको पूजा, उपासना गरेका थिए ।

तीजको अवसरमा विगतका वर्षमा जस्तो यस वर्ष भने उल्लास र रौनक देखिएन । गएको भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि त्यसको पीडाका कारण तीज पर्वमा विगतको जस्तो उत्साह नदेखिएको हो । बाढी तथा पहिरोबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै धेरै स्थानमा तीजका कार्यक्रमलाई सामान्य र सीमित बनाइएको थियो । तीजको अन्तिम दिनका रूपमा ऋषिपञ्चमीलाई लिने गरिन्छ ।

आज सप्तऋषिको पूजाआराधना गरेसँगै यस वर्षको तीज पर्व औपचारिक रूपमा समापन हुनेछ । ऋषिपञ्चमीमा विशेषगरी महिलाले बिहानै स्नान गरी शुद्ध भई सप्तऋषिको पूजा गर्ने र आफ्नो परम्पराअनुसार व्रत तथा धार्मिक अनुष्ठान गर्ने गर्छन् ।

मन्दिर तथा तीर्थस्थलमा भक्तजनको चहलपहलसँगै विभिन्न स्थानमा परम्परागत विधिअनुसार पूजा तथा आराधना भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार