काठमाडौं, चैत । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेले आफूहरुको सरकार गठन नहुँदै पार्टीभित्र फाटो ल्याउन विभिन्न समूहहरु सक्रिय रहेको बताएका छन् ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित पार्टीका सांसदहरुसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरु मिल्न नसके र स्वार्थको बन्दी बने समस्याहरु आउन सक्ने बताए ।
उनले भने, नयाँ सरकार गठन नभईकन हामीमा फाटो ल्याउन विभिन्न समूहको विगबिगी छ । उनले नव निर्वाचित पार्टीका सांसदहरुलाई पुराना दलहरुबाट टाढा बस्न आग्रह गरे ।
नव निर्वाचत सांसदहरुलाई जथाभावी गलत अभिव्यक्तिहरु नदिन आग्रह गर्दै यस्तो छुट रास्वपाका सांसदहरुलाई नभएको पनि बताए ।
उनले भने, जुन आशा र अपेक्षाका साथ मतदाताले हामीलाई जिताउनु भएको छ, यसको जिम्मेवारीवोध तपाईहरुमा हुनुपर्छ । उनले निर्वाचित सबैलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन् ।
उनले कुन धाराले कहाँ के काम अड्किएको छ भनेर निर्वाचितहरूले थाहा पाउनुपर्ने बताउँदै भने, कहाँ कसलाई भनेर हुन्छ भनेर दौडधुप नगर्नु होला ।
उनले कुनै बहाना गर्न नपाउने गरी जनताले आफूहरूलाई जिताएर पठाएको भन्दै आफूहरू सचेत हुनुपर्ने बताएका छन् ।