२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' कांग्रेसमा नयाँ जोस र ऊर्जा देखिएको छ ' : नेता निधि

बुधवार , फाल्गुण १३, २०८२

 

जनकपुरधाम, फागुन । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले मुलुकलाई सही दिशामा अगाडि बढाएको बताएका छन । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता निधिले कांग्रेसमा अहिले नयाँ जोस र ऊर्जा देखिएको चर्चा गरे ।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, 'अहिलेको अवस्था राम्रो छ, जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि तपाईंले थाहा पाउनुभयो होला, यति विशाल आमसभा भयो । धेरै राम्रो सन्देश त्यो आमसभाले दिएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ ।'

उनले थप्दै भने, 'हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगनकुमार थापाको युवा ऊर्जा देखिएको छ । यसलाई मैले सकारात्मक रूपमा लिएको छु । यसले राम्रो प्रभाव पारेको छ । उनले अहिले नेपाली कांग्रेसमा देशभर एकता रहेको दाबी समेत गरे । नेता निधिले भने, “एउटा कुरा मैले देखिरहेको छु, अहिले कांग्रेसमा आन्तरिक एकता रहेको छ ।

कांग्रेसका उम्मेदवारहरूको जसरी चयन भएको छ र देशको राजनीतिक अवस्था जसरी जनताले बुझेका छन्, यी सबैका आधारमा म के भन्न सक्छु भने कांग्रेसले बहुमत प्राप्त गर्छ । बहुमतबाट नेपाली कांग्रेसको सरकार बन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।

उनले पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई आफैँले पनि रुचि लिएर समेट्ने कोसिस गरिरहेको उल्लेख गरे ।आन्तरिक मतभेदलाई म आफैँ पनि रुचि लिएर समेट्ने कोसिस गरिरहेको छु, जसमा सफलता पनि पाएको छु, निधिले बताए । नेता निधिले अहिले देशमा निर्वाचित सरकार नहुँदा लोकतन्त्र शिथिल भएको र राजनीतिक प्रणाली अवरुद्ध भएको टिप्पणी गरे ।

उनले भने, ' अहिले देशमा निर्वाचित सरकार र निर्वाचित संसद् छैन । संविधान गतिरोधमा परेको छ । अहिले नेपाली कांग्रेसले नै यसको सही उपचार दिन सक्छ भन्ने भावना छ । यो सकारात्मक आधार हो, जसका कारण नेपाली कांग्रेसलाई जिताउनुपर्छ भन्ने जनताको मत छ ।

प्रतिनिधि सभाको निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारको अन्त्य र सुशासनका सवालमा काम गर्ने उनको भनाइ थियो ।

उनले भने, ' अब हामीले आधुनिक प्रणालीलाई विकास गर्नुपर्छ । डिजिटल गभर्नेन्स सिस्टम अर्थात् ई(गभर्नेन्स सिस्टमलाई अघि बढाउनुपर्छ । यो सिस्टमले भ्रष्टाचारको न्यूनीकरण, पारदर्शिता र सुशासनको कुरा सम्बोधन हुन्छ । यो व्यवस्थालाई तीनवटै तह— स्थानीय, प्रादेशिक र सङ्घीय तहमा लैजानुपर्छ ।

सो व्यवस्थालाई सरकारी मात्र नभएर गैरसरकारी क्षेत्रमा पनि लागू गराइनुपर्नेमा उनले जोड दिए । निधिले भने, ' यो सिस्टमले पाँच दिन लाग्ने काम पाँचै दिनमा र पाँच घण्टामा हुने काम पाँचै घण्टामा हुन्छ ।

लाइसेन्सका लागि फाराम भर्नुपर्ने अहिलेको प्राविधिक जटिलता हट्छ । नागरिकता पाउन एक घण्टा लाग्छ भने एक घण्टामा नै पाइसक्नुपर्यो । यस्तो बाटोमा ई(गभर्नेन्स सिस्टमबाट काम गर्न सकिन्छ ।

कांग्रेसले नै अहिलेसम्म जनताको अधिकार र विकासका लागि काम गरेको दाबी गर्दै उनले भने, ' प्रत्येक मानिसलाई अधिकार र विकास गरी दुई कुरा चाहिन्छ । बिपी कोइरालाको समयदेखि अहिलेसम्म यी दुवै क्षेत्रमा कांग्रेसले नै काम गरेको छ । त्यसैले जसले काम गरेको छ, भोलिका दिनमा उसैले काम गर्न सक्छ भन्ने भरोसा राख्नुपर्दछ ।

उनले नयाँ चालकले गाडीलाई जतिबेला पनि दुर्घटना गराउन सक्ने भन्दै अनुभवी पार्टी नेपाली कांग्रेसका उम्मेदवारलाई नै मतदान गर्न आग्रह गरे । उनले भने, 'जसले काम गरेर देखाएकै छैन र कामको कुनै अनुभव छैन, उसले नयाँ काम गर्छु भन्दैमा भरोसा गर्ने ठाउँ छैन ।

नयाँ चालकले त जतिबेला पनि दुर्घटना गराइदिन सक्छ । त्यसकारण कांग्रेसको रूख छापमा नै मत दिन म मतदातालाई आग्रह गर्दछु।' उनले नेपाललाई सुन्दर र शान्त बनाउन, अपराध नियन्त्रण गर्न तथा सुशासन र समावेशितासहितको सङ्घीय लोकतान्त्रिक प्रणालीलाई कार्यान्वयन गर्न कांग्रेसको जित आवश्यक रहेको बताए ।

उनले थपे, “नेपाली कांग्रेसले अरू दलहरूसँग निर्भर भएर सरकार बनायो भने डेलिभरी दिन सक्दैन । त्यसकारण कांग्रेसको एकल बहुमत पुर्‍याउने गरी मतदान गर्न मेरो आग्रह छ । नेता निधिले आफू धनुषा ३ बाट उम्मेदवार हुँदा राष्ट्रिय राजनीतिका मुख्य एजेन्डादेखि स्थानीय मुद्दालाई समेटेर चुनावी एजेन्डा बनाएको जानकारी दिए ।

उनले राष्ट्रिय राजनीतिमा संविधानलाई लिकमा ल्याउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सफल कार्यान्वयन गर्ने विषय मूल रहेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रका लागि ग्रामीण क्षेत्रमा तीनवटा प्रसूति अस्पताल र तीनवटा बाल अस्पताल बनाउने योजना रहेको सुनाए ।

साथै, युवाहरूको रोजगारीका लागि लगानीकर्ताहरूलाई आमन्त्रित गरेर सुरक्षित रूपमा उद्योग र व्यवसायमा लगानी गर्ने वातावरण बनाउनु आफ्नो प्राथमिकता रहेको उल्लेख गरे ।

नेपालमा मल कारखाना नहुँदा कृषि क्षेत्रले समस्या भोगेको भन्दै उनले जिल्लामा लगानीकर्ता ल्याएर मल कारखाना खोल्ने विषयमा सरसल्लाह भइरहेको बताए । जनकपुर धार्मिक पर्यटनको विकासका लागि महत्त्वपूर्ण स्थान रहेको चर्चा गर्दै उनले रामजानकी रङ्गशाला निर्माण गरी स्पोर्ट्स एकेडेमी सञ्चालन गर्ने स्पष्ट पारे ।

आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेको र जेलनेल भोगेकाले जनताले आफूलाई उपयुक्त पात्रका रूपमा माया र आशीर्वाद दिएको उनले बताए ।

उनले मधेस प्रदेशको राजधानी जनकपुर बनाउन, राजर्षि जनक विश्वविद्यालय स्थापना गर्न र ढल्केबर–जनकपुर ६ लेनको बाटो निर्माणमा आफ्नो निर्णायक योगदान रहेको स्मरण गराए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार