काठमाडौँ, माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यस पटकको निर्वाचनमा दलहरु एक्ला एक्लैमा प्रतिष्पर्धामा जानु सकारात्मक भएको बताएका छन् ।
बिहीबार भैरहवामा आयोजित कांग्रेस उम्मेदवारसहितको वृहत भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले भने, यस पटकको चुनावमा प्रायः दलहरु गठबन्धन नगरी जनता समक्ष गएका छौं, यो सकारात्मक पक्ष हो ।
उनले अब पाँच वर्ष स्थिर सरकार रहने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने बताए । उनले कांग्रेस बहुमतका लागि चुनावमा गएको भए पनि पाँच वर्ष टिक्ने स्थिर सरकारको व्यवस्था हुनुपर्ने बताए ।
कांग्रेस बहुमत ल्याउने लक्ष्यसहित अगाडि बढेको छ, तर पाँच वर्ष स्थिर सरकार रहने गरी संवैधानिक व्यवस्था गरिनुपर्छ ।
उपसभापति शर्माले भने, प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै पाँच वर्ष शासन गर्ने, कथमकदाचित बहुमत नपुगेमा विनर्स टेक अल' को नीति बमोजिम अपुग संख्या सुनिश्चित गर्ने, दोस्रो र तेस्रोलगायतका दल सरकारमा नगएर पूरै पाँच वर्ष प्रतिपक्षी कित्तामा बस्ने, यस्तै कुनै अवधारणामा चुनाव पूर्व जरुरी राष्ट्रिय सहमति गरौँ ।