काठमाडौँ, पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गगनकुमार थापाले नेपाली कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।
सभापति शेरबहादुर देउवा पक्षबाट आफूमाथि गरिएको कारबाहीप्रति कडा प्रतिक्रिया जनाउँदै उनले कसैले हटायौं भन्दैमा आफूहरू नहट्ने स्पष्ट पारेका हुन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले पार्टी कसैको निजी सम्पत्ति नभएको दोहोर्याए ।
हामीलाई कारबाही गरिएको सुनेका छौँ । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन, थापाले भने, म ९ कक्षामा पढ्दादेखि नै कांग्रेस हुँ । २०४६ को आन्दोलनमा सहभागी भएँ, २०६२- ०६३ को आन्दोलनको त नेतृत्व नै गरेको थिएँ । कसैले हटायौँ भन्दैमा हट्ने होइन ।
केन्द्रीय कार्यसमितिले दुई महामन्त्री र सहमहामन्त्रीलाई निष्कासन गरेको समाचारप्रति टिप्पणी गर्दै थापाले प्रश्न गरे, के तपाईंले मलाई आफ्नै घरबाट निकाल्नुभएको हो ? यो कसैको निजी फर्म होइन ।
थापाले सभापति देउवालाई आफूले कुरा बुझाउन नसकेको स्वीकारसमेत गरे । देउवाले आज बिहान मात्रै आफूलाई भेटेर वैशाखमा नियमित महाधिवेशन हुन्छ, त्यही बेला सभापति बन्नू भनेर प्रस्ताव गरेको उनले खुलाए ।
आफ्नो र विश्वप्रकाश शर्माको राजनीतिक भविष्यबारे चिन्ता नगर्न आग्रह गर्दै थापाले भने, ' हाम्रो बारेमा चिन्ता गर्नुपर्ने छैन । हामी त पार्टी सुधारका लागि जोखिम उठाउन तयार भएका छौँ ।'
विभिन्न क्षेत्रका साथीहरूले आफूलाई निर्वाचन लड्न आग्रह गरिरहेको उल्लेख गर्दै थापाले आफ्नो राजनीतिक आधार बलियो रहेको दाबी गरे ।