प्रतिनिधिस तथा प्रदेशसभामा निर्बाचनमा उम्मेदवारी दिएका ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा प्रतिनिधिसभामा ११९ र प्रदेशसभातर्फ २५७ जना छन । प्रतिनिधिसभामा २ हजार ५३१ जनाले उम्मेदवारी दिएकामा फिर्तापछि अब २ हजार ४१२ कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, यसमा २ हजार १८७ पुरुष र २२५ महिला रहेका छन । त्यस्तै, प्रदेशमा अब ३ हजार २२४ उम्मेदवार कायम रहेका छन् । यसमध्ये पुरुष २ हजार ९४३, महिला २८० जना र तेस्रो लिंगी १ जना छन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्नसमेत प्रदान गरेकाले आज, बिहीबार, देखि उम्मेदवारले मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाउनेछन् ।
प्रदेशसभाका ५ वटा क्षेत्रमा भने दुई जना उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । आयोगका अनुसार मुस्ताङ–१ (१) मा दुई जना मात्रै उम्मेदवार छन् । यहाँ एमालेका ५३ वर्षीय इन्द्र धारा डादु बिष्ट र कांग्रेसका ३३ वर्षीय नम्डु गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै बागलुङ–२ (१) मा कांग्रेसका ४३ वर्षीय जितबहादुर शेरचन र स्वतन्त्र उम्मेदवारी दिएका ४२ वर्षीय प्रकाश घर्ती मगरबीच प्रतिस्पर्धा हुनेछ । दुई जना मात्रै प्रतिस्पर्धा हुने अर्को क्षेत्र हो– अछाम १ (१) । जहाँ कांग्रेसका ५७ वर्षीय मेखराज खड्का र एमालेका ६२ वर्षीय देवबहादुर कुँवर भिड्दै छन् ।
अछाम २ (१) पनि २ जना मात्रै प्रतिस्पर्धी छन् । यहाँ एमालेका ५१ वर्षीय भीमबहादुर बिष्ट र माओवादी केन्द्रका ४२ वर्षीय अक्कलबहादुर रावलबीच आम्नेसाम्ने हुने भएको निर्बाचन आयोगले जनाएको छ । प्रतिनिधिसभामा सबैभन्दा कम उम्मेदवार हुम्ला १ मा ३ जना छन् । मनाङमा पनि तीन जना मात्रै छन् । मुस्ताङमा ४ जना, अछाम–२ मा ५ जना उम्मेदवार छन् ।
गण्डकी प्रदेशसभा सदस्यमा मनाङ–१ (२) बाट दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेशमा सबैभन्दा बढी रौतहट–१ (१) मा ३० जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभामा भने सबैभन्दा कम ३ जनासम्म उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
मनाङ र हुम्लामा तीन जना मात्रै उम्मेदवार छन् । मुस्ताङमा चार जना उम्मेदवार छन् । हुम्लामा सत्ता गठबन्धनबाट माओवादीका छिरिङ डम्डुल लामा (भोटे), एमालेका दल रावल र राप्रपाका तेजबहादुर रावलबीच प्रतिस्पर्धा हुने भएको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङबीच घम्साघम्सी हुने भएको छ ।
उम्मेदवारी फिर्ता लिएपछिको विवरण केलाउँदा काठमाडौं–१ मा सबैभन्दा बढी ३२ जना छन् । यसमा २२ जना पुरुष र १० जना महिला छन् । काठमाडौं–४ र मोरङ–३ मा ३१ जना उम्मेदवार छन् । काठमाडौं–७ मा २९ उम्मेदवार रहेका छन् । सत्ता गठबन्धनमा रुकुम पश्चिम, रुकुमपूर्व र रोल्पामा मित्रवत् प्रतिस्पर्धा गर्ने ‘भद्र सहमति’ भएपछि कांग्रेसले रुकुम पश्चिमका प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै क्षेत्रमा उम्मेदवार उठाएको थियो ।
पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको पत्रसहित रुकुम पश्चिममा प्रतिनिधिसभामा केन्द्रीय सदस्य मानबहादुर नेपाली र प्रदेशसभा १ मा प्रदेश महामन्त्री कृष्णबहादुर रोकाया तथा प्रदेशसभा २ मा जिल्ला सभापति प्रेमप्रकाश वलीले उम्मेदवारी दर्ता गरेका थिए । तर कांग्रेसको उम्मेदवारी ४ दिन पनि टिकेन । पार्टीको निर्देशनमा तीनै जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
रुकुम पश्चिममा अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार छन् । त्यहाँका दुईवटै प्रदेशसभा क्षेत्र पनि माओवादी केन्द्रले पाएको छ ।
कांग्रेस सभापति वलीको उम्मेदवारी भने बैंकिङ कसुरसम्बन्धी मुद्दाका कारण खारेज भएको थियो । ‘पहिल्यै टिकट नदिएको भए उम्मेदवारी दर्ता गर्ने थिएनौं, अहिले बलजफ्ती उम्मेदवारी झिक्न लगाइयो,’ केन्द्रीय सदस्य नेपालीले भने ।
रुकुमपश्चिममा झैं प्रभावशाली नेताहरू चुनाव लडेका क्षेत्रमा सत्ता गठबन्धन दलका आधिकारिक र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेले भने गठबन्धनको प्रभाव भएको क्षेत्रमा आफ्नै उम्मेदवारलाई फिर्ता गरेर स्वतन्त्र र अन्य दलका उम्मेदवारलाई समर्थन गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार रहेको गोरखा–२ मा माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छन् । सत्यनिरूपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
‘प्रधानमन्त्रीले देशको समग्र अवस्थालाई मध्यनजर गर्दै उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभयो, सत्ता गठबन्धन लोकतन्त्र बचाउनका लागि हो भन्नेमा म सहमत भएरै उम्मेदवारी फिर्ता लिएकी हुँ,’ भट्टले भनिन् ।
गोरखा–२ मा कांग्रेसका गणेश देवकोटा अझै बागी उम्मेदवार छन् । उनी गत वर्ष पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । देउवा उम्मेदवार रहेको डडेलधुरामा एमालेको टिकटबाट लडेका चक्र स्नेहीलाई फिर्ता गरेको छ । राष्ट्रिय सभाको पूर्वसदस्य स्नेहीलाई पार्टीका तर्फबाट टिकट दिइएको थियो ।
उक्त क्षेत्रमा कांग्रेस बीपीका तर्फबाट उम्मेदवार बनेका कर्ण मल्ललाई समर्थन गर्न उम्मेदवारी फिर्ता लिइएको हो । मल्ल कांग्रेसका पूर्वजिल्ला सभापति तथा प्रधानमन्त्री देउवाका पूर्वस्वकीय सचिव हुन् ।
एमालेले डडेलधुराको रणनीति चितवन–३ मा पनि अख्तियार गरेको छ । त्यहाँ उसले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको थियो । तर बुधबार उनलाई उम्मेदवारी फिर्ता लिन लगाएर गठबन्धनका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ । कोइराला कांग्रेस केन्द्रीय सदस्य हुन् । चितवन–३ मा सत्ता गठबन्धनले माओवादीका भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।
माओवादी अध्यक्ष दाहाल आफू गोरखा–२ मा गएर चिकित्सकसमेत रहेका अधिकारीलाई उठाएका हुन् । कांग्रेसले आफ्नो बलियो जनाधार रहेको चितवन–३ मा दाहालले छाडेपछि पाउने आशा गरेको थियो । तर दाहालले छाड्दासमेत माओवादीकै उम्मेदवार भएपछि कोइराला बागी उठेका हुन् ।
उनी कांग्रेसभित्र संस्थापनइतर नेता शेखर कोइराला पक्षीय हुन् । ‘एमालेले कांग्रेसको असन्तुष्ट पक्षसँग केन्द्रीय स्तरमै कुरा गरेर कोइरालालाई समर्थन गरेको हो,’ स्वतन्त्र उम्मेदवार कोइरालानिकट एक नेताले भने, ‘कांग्रेसको केन्द्रीय नेतृत्वले चितवनलाई पटक–पटक अन्याय गरेपछि एमालेको समर्थन लिनुपरेको हो ।’
उक्त क्षेत्रमा एमालेले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गर्ने अनुमान गरिएको थियो । तर कांग्रेसका बागीलाई समर्थन गरेपछि चितवन–३ मा गठबन्धनका अधिकारी, राप्रपाका पाण्डे र एमालेको समर्थन पाएका कोइरालाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ उम्मेदवार रहेको इलाम–१ मा कांग्रेसका पुराना नेता विक्रम पाण्डे बागी उठेका छन् । उनको उम्मेदवारी फिर्ता लिन लगाउने कांग्रेसको प्रयास सफल भएन ।
इलाममा कांग्रेस र एकीकृत समाजवादीबीच गत स्थानीय तह निर्वाचनदेखि सम्बन्ध राम्रो छैन । स्थानीय तहमा कांग्रेससँग गठबन्धन गरे पनि कार्यपालिका निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा एकीकृत समाजवादीले एमालेसँग तालमेल गरेको थियो ।
त्यसैले पाण्डेको उम्मेदवारीले एकीकृत समाजवादीसँग असन्तुष्ट जनमत प्रभावित गर्ने कांग्रेसका एक स्थानीय नेताले बताए ।