नेकपा (एकीकृत समाजवादी) बाट सत्तारुढ गठबन्धनले गरेको निर्णय नमानेर मनोनयन दर्ता गराएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टी नेतृत्वले दिएको निर्देशन मान्दै उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ४ जना र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका १४ जनाले आफ्नो मनोनयन फिर्ता लिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् ।
उनले विज्ञप्ति जारी गरेर आफ्नो पार्टीबाट गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दिएका १८ जनाले नाम फिर्ता लिएको जानकारी दिएका हुन् ।
सत्तारुढ गठबन्धनले मंगलबार विज्ञप्ति जारी गर्दै बागीहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । एकीकृत समाजवादीले पनि विज्ञप्ति जारी गरेर बागी उम्मेदवारी दिएकाहरूलाई नाम फिर्ता लिन भनेको थियो ।