काठमाडौँ, असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन । गृह जिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले भने, 'देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा छ ।'
“कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ”, पौडेलले भने, “मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस् ।”
निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे ।
“गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ”, उनले भने । । कांग्रेसभित्रका नेताहरुलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो ।
छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराएका छन । जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए ।