२०८३, मंसिर ८ गते

सोमवार, मंसिर ८ गते २०८३

एसिया कप राइजिङ स्टार्स

कुशलको अर्धशतकीय पारीमा नेपालको जित

आइतवार , मंसिर ७, २०८३

 

काठमाडौं, मंसिर ।

एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ' बी ' को दोस्रो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। प्रतियोगितामा नेपालको यो पहिलो जित हो।

 कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३९.५ ओभरमा १२१ रन बनाउँदै अलआउट भएको थियो।

यूएईले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा ४ विकेट गुमाउँदै १२३ लक्ष्य पूरा गरेको हो। नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले।

उनले ५६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनले मयन यादवसँग तेस्रो विकेटको लागि ६१ रनको साझेदारी गरे। त्यस्तै, चौथो विकेटको लागि वसिर अहमदसँग ४३ रनको साझेदारी बनाएका थिए।

मयन यादवले २७ रन बनाउँदा वसिर अहमद १८ र पवन सर्राफ ९ रनमा अविजित रहे । यूएईका लागि मुहम्मद मोसिनले २ विकेट लिँदा उडिस सुरी र अंश तन्डनले १- १ विकेट लिए।

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ४० रन बनाए। हरप्रित सिंहले ३२ रन बनाउँदा नोरुल्लाह अयोबीले १२ रन बनाए।

अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको लागि बलिङतर्फ सन्दीप लामीछाने र कुशल भुर्तेलले ३- ३ विकेट लिए ।

नन्दन यादव, रासिद खान र ललित राजवंशीले १- १ विकेट लिएका थिए। नेपालले पहिलो खेलमा भारत ' ए ' सँग ३०६ रनको हार बेहोरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार