२०८३, मंसिर ८ गते

सोमवार, मंसिर ८ गते २०८३

घोप्टेभिरको डाँडा : ' जोखिमपूर्ण भाग झार्न थालियो '

आइतवार , मंसिर ७, २०८३

 

चितवन, मङ्सिर ।

पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो ।

नागढुङ्गा-मुग्लिन सडक आयोजना -पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्याइएको थियो ।

 

उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न सुरु गरेको हो । निर्माण कम्पनी शर्मा जेडआईसिजि जेभिका इन्जिनियर ईश्वर नेपालका अनुसार करिब १०० मिटर अग्लो ठाउँमा एक्साभेटर पुर्याएर डाँडो काट्न थालिएको हो ।

बिहान ११ :०० बजेदेखि दिउँसो ४ : ०० बजेसम्म सडकमा सवारी रोकेर काम गरिएको उनले जानकारी दिए । डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्साभेटर तल झारिने उनले बताएका छन ।

डाँडामा अवस्था हेरेर थप उपकरण वा एक्साभेटर लैजान सकिने देखिएमा सोमबार सम्ममा अर्को एक्साभेटर थप्ने योजना छ । सवारी रोकिएकाले यो समयको उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तार गर्न थालिएको छ ।

यहाँ १५० मिटर लामो भागमा करिब तीन मिटर चौडा गर्नुपर्ने छ, नेपालले भने । नेपालका अनुसार चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा सडक चौडा गर्न थालिएको छ ।

सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने हुन्छ । दुवै ठाउँमा दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ, उनले भने ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँचदिन भित्रमा काम सक्ने गरी सवारी रोकेर निर्माण कम्पनीलाई ताकेता गरिएको बताए ।

सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभिरको जोखिमपूर्ण भागलाई झार्न लागिएको उनको भनाइ छ । सवारी रोकेको समयमा सडक विस्तार गर्नुपर्ने ठाउँमा पनि काम गर्न भनिएको उनले जानकारी दिए ।

झण्डै एक महिनायता सुक्खा पहिरो खसेर घोप्टेभिरमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । पटक पटक पहिरो खसेर सवारी रोकिने गरेका छन् भने पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ ।

घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । यो सडक हुँदै राजधानी भित्रने र बाहिरने गरिन्छ । एक दिनमा यस सडकमा एक हजार ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार