काठमाडौं, कात्तिक ।
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित चार जनालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मतरुपमा अनुमोदन गरेको छ।
सिंहदरबारमा शनिबार समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
बागचन, सारु, पाण्डे र डाँगीले संसदीय सुनुवाइ समितिमा न्यायिक सुधारसम्बन्धी आफ्नो कार्ययोजना पेस गरेका थिए।
उनीहरुले सांसद्हरूले सोधेका प्रश्नहरूको पनि जवाफ दिएका थिए। सुनुवाईका क्रममा समिति सदस्यहरुले प्रस्तावित न्यायाधीशविरुद्ध परेको उजुरीको चित्तबुझ्दो जवाफ प्राप्त भएको बताएका थिए ।
संसदीय सुनुवाईपछि सभापति श्रेष्ठले चारै जनाको नाम सर्वसम्मत अनुमोदन भएको घोषणा गरेका हुन्। अब राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने छन्।
असोज २० गते बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतमा चार जनाको नाम सिफारिस गरेको थियो।