२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

सभामुखसँग विपक्षी दलको आग्रह : ' संसद् आह्वान गरौँ '

बाहिर आएका संवेदनशील विषयमा संसद्भित्रै छलफल गर्नुपर्छ : नेता आङदेम्बे

मंगलवार , कार्तिक १८, २०८३

 

काठमाडौं, कात्तिक ।

प्रतिपक्षी दलका नेताहरूले संसद् आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन्। मंगलबार सिंहदरबारमा कांग्रेस र एमालेका नेताहरूले सभामुख अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै संसद् आह्वान गर्न आग्रह गरेका हुन्।

भेटवार्तामा सभामुख अर्यालले छिट्टै संसद् बोलाउने प्रतिबद्धता जनाएको उनीहरूले बताएका छन्।

सभामुखसँगको भेटपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हाल बाहिर आएका अत्यन्तै संवेदनशील विषयहरूमा संसद्भित्रैबाट व्यापक छलफल गर्नुपर्ने र उठेका विषयहरूलाई लामो समयसम्म अल्झाएर राख्नुभन्दा संसद्बाटै निकास खोजिनुपर्ने बताए।

गम्भीर विषयहरूमा संसद्लाई छिटोभन्दा छिटो बोलाएर निकास खोज्नुपर्नेमा सभामुखको ध्यानाकर्षण गराइएको उनको भनाइ छ।

उनले संसद् छल्ने गरी अध्यादेशमार्फत धेरै कुराहरूमा हस्तक्षेप गर्ने र लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने काम भइरहेकाले पनि संसद् चाँडो आह्वान हुनुपर्नेमा जोड दिए।

कर्मचारीहरूलाई कार्यस्थलबाट उठाएर प्रधानमन्त्री कार्यालय वा अन्यत्र लैजाने र यातना गृहजस्तो अनुभूति गराउने परिदृश्यको निकास पनि संसद्बाटै खोज्नुपर्ने उनले बताए।

त्यस्तै, एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद् नरहेको अवस्थामा विभिन्न समस्याहरू र विकृतिहरू प्रकट भइरहेकाले तत्काल संसद् आह्वान हुनुपर्ने बताइन्।

उनले सरकार, प्रशासन, न्यायपालिका र राजनीतिक दलहरूमा बिचौलियाको बिगबिगी बढेकाले त्यसलाई निरुत्साहित गर्ने र खोजी गर्ने मुख्य जिम्मेवारी राजनीतिक दलहरूको भएको उल्लेख गरिन्।

उनले न्यायाधीशमाथि उठेका प्रश्नको अध्ययन तथा छानबिन न्याय परिषद्, सर्वोच्च अदालत वा संसद्को समितिको माध्यमबाट गर्न सकिने बताइन्।

यसअघि सोमबार बसेको विपक्षी दलको बैठकले संसद् आह्वानका लागि सभामुखसँग आग्रह गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार