काठमाडौँ,असोज। आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत अहिले नेपालले घरेलु टोली ओमानसँग खेलिरहेको छ । ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालले १७ रन जोड्दा आसिफ शेखलाई गुमाएको छ । अर्जुन कुमाल र ईशान पाण्डेले नेपालको ब्याटिङलाई अगाडि बढाएका छन् । जारी त्रिदेशीय शृङ्खलामा नेपाल र ओमान दुवै टोली लगातार दोस्रो जित दर्ता गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन् ।
यसअघि आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो भने ओमानले पनि क्यानडामाथि ४१ रनको जित निकालेको थियो। शीर्ष ६ भित्र पर्दै आईसीसी एकदिवसीय मान्यता कायम राख्न नेपालका लागि आजको खेल अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।
हाल अङ्क तालिकामा ३३ खेलबाट २६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ भने २९ खेलबाट ३३ अङ्क बनाएको ओमान चौथो स्थानमा रहेको छ। आईसीसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष ६ भित्र पर्ने टोलीहरूले मात्र सोझै आफ्नो एकदिवसीय मान्यता जोगाउन पाउने छन्।
तालिकाको पुछारमा रहने दुई टोलीले भने एकदिवसीय मान्यता जोगाउनका लागि आईसीसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने बाध्यता रहन्छ।