अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको दीर्घप्रतीक्षित बैठक कुनै पनि सहमतिमा नपुगी टुङ्गिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्नेबारे पुटिनसँगको वार्तामा केही प्रगति भए पनि 'कुनै सम्झौतामा नपुग्दासम्म सहमति भएको भन्न नसकिने' बताएका छन्। दुई देशका राष्ट्रपतिहरूबीचको करिब तीन घण्टा लामो वार्तापछि पुटिनले युद्ध अन्त्यका लागि आफू ' गम्भीर र इच्छुक' रहेको बताएका थिए।
तर रुसको ' वैध सुरक्षा चासो सम्बोधन हुनुपर्ने' उनको भनाइ थियो। दुवै जनाले सहमति हुन नसकेका विषयबारे विस्तृत विवरण दिएका छैनन्। उनीहरूले वार्तापछि पत्रकार सम्मेलन गरे तर पत्रकारहरूबाट प्रश्न लिएनन्।
रुस नजिकैको उक्त अमेरिकी राज्यमा भएको वार्तापछि पुटिन रुस र ट्रम्प राजधानी वासिङ्टन डीसी फर्किएका छन्। ट्रम्पले बैठक ' निकै राम्रोू भएको प्रतिक्रिया दिँदै ' एउटा ठूलो विषय' का कारण सम्झौता रोकिएको बताएका छन्।
तर उनले सम्झौता रोक्ने विषय के हो भन्नेबारे खुलाएनन्। ट्रम्पले दुई देशका युद्धबन्दी आदानप्रदानबारेको सम्झौता चाहिँ छिट्टै हुनसक्ने सङ्केत गरेका छन्।
फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भने, 'उनीहरूले मलाई हजारौँ बन्दीको सूची भएको पुस्तक दिएका छन्। हजारौँ युद्धबन्दीहरू रिहा हुनेछन्।' बन्दी रिहाइको प्रस्ताव स्वीकार गर्न बाँकी रहेको जानकारी दिँदै ट्रम्पले ' उक्त पुस्तक' मा रुस वा युक्रेन कस्का युद्धबन्दीहरूको विवरण रहेको भन्नेबारे खुलाएनन्।
undefined
वार्ताअघि ट्रम्पले युद्धविरामको घोषणा नभए आफू खुसी नहुने बताएका थिए। तर कुनै पनि राष्ट्रपतिले त्यस्तो सहमतिबारे कुरा गरेनन्।
ट्रम्पले आफूहरू ' त्यहाँसम्म नपुगेको' प्रतिक्रिया दिएका छन्।युक्रेनको भूभाग गुम्ने सम्झौता हुने ठानिएको वार्तामा कुनै सहमति नहुँदा किएभमा भने राहत महसुस भएको बीबीसी संवाददाताले जनाएका छन्।
ट्रम्प- पुटिन वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भने आमन्त्रण गरिएको थिएन। ट्रम्पले आफूले जेलेन्स्की र युरोपेली नेताहरूलाई वार्ता पछि सम्पर्क गर्ने बताएका थिए।