मध्यविन्दु (नवलपरासी), वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टीप्यालेससम्म, मही र दहीको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ ।
पछिल्लो केही वर्षदेखि भोजभतेरमा मही तथा दहीको प्रयोग अनिवार्यजस्तै बन्दै गएको कावासोतीस्थित पानस पार्टीप्यालेसका सञ्चालक गुरु पोख्रेलले बताए । पहिले गाउँघरमा मही र दही भोजमा अनिवार्य जस्तै थियो ।
अहिले पनि त्यसैगरी भोजमा मही र दही राख्न थालिएको छ, उनले भने। गाउँमा मात्र होइन, सहरबजारका पार्टी प्यालेसमा पनि अब मही विशेष पेयका रूपमा प्रस्तुत गरिन थालेको छ । पार्टी प्यालेसका सञ्चालक पोख्रेलका अनुसार पहिला चिसो पेय र बोतलको पेय राखिन्थ्यो । अहिले ग्राहक आफैँले मही माग्छन् ।
undefined
हामीले भोजभतेरको ' मेनु' मा नै दही महीलाई समावेश गर्न थालेका छौँ । जिल्लामा पछिल्लो समय आयोजना गरिने सभासमारोह एवं औपचारिक कार्यक्रममा पनि महीको प्रयोग हुन थालेको छ ।
यस्ता कार्यक्रममा खाजाका रूपमा तयारी जुस वा चिया दिइने गरेकामा गर्मी मौसममा मही नै रोजाइमा पर्न थालेको देवचुली नगरपालिका- १० का राजु चापागाईँले बताए ।
' स्वाद, स्वास्थ्य र संस्कृतिको सङ्गम बनेको मही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ, उनले भने ।
विशेषगरी गर्मी मौसममा महीले चिसो र शीतल पार्ने हुँदा यसको प्रयोग बढ्दो छ । देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार मही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ ।
भोजमा कोल्ड ड्रिङ्कको सट्टा मही राख्दा स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ । माग बढ्न थालेपछि स्थानीय पशुपालक तथा दुग्ध उत्पादक किसानले दही र महीको आपूर्तिमा ध्यान दिन थालेका छन् ।
भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र महीको माग आउने क्रम बढेको गौरादेवी नवीन कृषि तथा पशु फार्म कावासोती -६ का सञ्चालक गङ्गाधर न्यौपानेले बताए । हिजोआज भोजमा एकैचोटी सयौँ किलो दहीको माग आउँछ । यसले किसानलाई फाइदा पुगेको छ, उनले भने ।