मस्को -वासिङ्टन, असोज ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच शुक्रबार महत्पूर्ण टेलिफोन वार्ता सम्पन्न भएको छ ।
वार्ताका क्रममा युक्रेन संकटको शान्तिपूर्ण समाधानका सम्भावना, विश्वव्यापी ऊर्जा आपूर्तिको अवस्था, इरानसँग सम्बन्धित घटना क्रम तथा रुस-अमेरिका द्विपक्षीय सम्बन्धका विविध पक्षमा विचार आदान प्रदान भएको क्रेमलिनले जनाएको छ ।
क्रेमलिनका अनुसार दुवै राष्ट्रपतिबिच भएको उक्त संवादमा समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिका महत्वपूर्ण विषय समेटिएका थिए ।
विशेष गरी युक्रेन संकटको समाधानका लागि सम्भावित कूटनीतिक पहल अघि बढाउने, अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आपूर्ति व्यवस्थालाई सहज बनाउने तथा दुई देशबिच संवाद र सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।
विश्व ऊर्जा आपूर्ति र आर्थिक सहकार्यमाथि जोड
वार्ताका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिका तथा विश्वका अन्य बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्न रुस तत्पर रहेको बताएका छन ।
उनले प्रस्तावित ऊर्जा आपूर्तिले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको समाचारमा उल्लेख छ ।
यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति ;डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत वार्ताबारे जानकारी दिँदै रुसबाट अमेरिकी तथा अन्तर्राष्ट्रिय बजारमा ठूलो परिमाणमा डिजेल इन्धन आपूर्ति गर्ने विषयमा सहमति भएको बताएका छन ।
राष्ट्रपति ट्रम्पका अनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने छ ।
त्यसपछि नोभेम्बर महिनामा थप पाँच लाख टन तथा त्यसलगत्तै थप १० लाख टन डिजेल उपलब्ध गराउने योजना रहेको उनले उल्लेख गरेका छन ।
साथै, रुसी डिजेल प्रशोधन केन्द्रको अवस्थालाई ध्यानमा राख्दै छोटो अवधिभित्र थप ३० लाख टन डिजेल आपूर्ति गरिने उनको भनाइ छ ।
राष्ट्रपति ट्रम्पले प्रस्तावित आपूर्तिले अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य घटाउन तथा विश्वव्यापी ऊर्जा उपलब्धतालाई सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।
डिजेल निर्यात सहज बनाउने रुसी तयारी
राष्ट्रपति बिचको वार्तापछि रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले डिजेल इन्धन निर्यातसम्बन्धी प्रतिबन्ध निर्धारित समयभन्दा अगाडि नै हटाउने प्रक्रिया अघि बढाइने जानकारी दिएका छन ।
उनका अनुसार रुस संयुक्त राज्य अमेरिकालगायत अन्य साझेदार मुलुकलाई पनि थप परिमाणमा डिजेल इन्धन आपूर्ति गर्न तयार रहेको छ ।
यसैबिच, अमेरिकी अर्थ मन्त्रालयले रुसी मूलको डिजेल इन्धनको बिक्री, ढुवानी, जहाजबाट अनलोड तथा आयात गर्न अनुमति दिने अस्थायी सामान्य इजाजतपत्र जारी गरेको समाचारमा उल्लेख छ ।
यी घटनाक्रमले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आपूर्ति व्यवस्थालाई सहज बनाउने सम्भावना प्रस्तुत गरेका छन् ।
प्रस्तावित आपूर्ति योजनाले विश्वव्यापी ऊर्जा व्यापार र आर्थिक गतिविधिमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी घटनाक्रमबाट स्पष्ट हुँदै जानेछ ।
युक्रेन संकटको शान्तिपूर्ण समाधानबारे विचार आदानप्रदान
राष्ट्रपति पुटिन र राष्ट्रपति महामहिम ट्रम्पबीचको वार्तामा युक्रेन संकटको समाधानका सम्भावनाले विशेष प्राथमिकता पाएको क्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन ।
उनका अनुसार करिब डेढ घण्टासम्म चलेको उक्त वार्ता मैत्रीपूर्ण तथा विषयवस्तुमा केन्द्रित रहेको थियो । वार्ताका क्रममा राष्ट्रपति पुटिनले द्वन्द्वको वर्तमान अवस्था र त्यससँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे रुसी पक्षको धारणा प्रस्तुत गरेका थिए ।
उशाकोभले रुसी पक्षले युक्रेनसँग सम्बन्धित सुरक्षा परिस्थितिबारे आफ्ना चासो व्यक्त गरेको जानकारी दिएका छन । साथै, उहाँले रुसी सेनाले युद्धमोर्चामा अग्रसरता कायम राखेको दाबी पनि गरेका थिए । ।
रुसी पक्षले आफ्नो भूभागमा भएका भनिएका आक्रमण तथा त्यससँग सम्बन्धित सुरक्षा चुनौतीबारे पनि धारणा सार्वजनिक गरेको छ । यी विवरण रुसी अधिकारीहरूको भनाइमा आधारित छन् ।
युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि कूटनीतिक संवाद, आपसी समझदारी र सम्भावित सहमतिका अवसर महत्वपूर्ण रहने सन्दर्भमा दुवै राष्ट्रपतिबिच भएको छलफललाई उल्लेखनीय मानिएको छ ।
यद्यपि, यस वार्ताबाट तत्काल युद्धविराम वा शान्ति सम्झौता भएको आधिकारिक पुष्टि गरिएको छैन ।
त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने सम्भावना
क्रेमलिनका सहयोगी युरी उशाकोभका अनुसार यसअघि रुस, युक्रेन र अमेरिकाबिच त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भएको थियो ।
रुसी राज्य डुमाको निर्वाचनपछि यस्तो संवाद अघि बढाउन सकिने विषयमा विचार गरिएको उनले बताएका छन । तर, पछिल्ला घटनाक्रमले तत्काल वार्ता पुनः सुरु गर्ने सम्भावनालाई प्रभावित पारेको रुसी पक्षको धारणा रहेको छ ।
उशाकोभले मस्कोसहित अन्य रुसी सहर तथा मतदान केन्द्रमा भएको भनिएको ड्रोन आक्रमण र निर्वाचन प्रक्रियामा संलग्न व्यक्तिमाथि लक्षित गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन ।
उनका अनुसार यी घटनाले वार्ताका लागि अनुकूल वातावरण निर्माण गर्ने प्रयासमा चुनौती उत्पन्न गरेको छ ।
यस विषयमा रुसी पक्षले आफ्नो धारणा सार्वजनिक गरे पनि त्रिपक्षीय वार्ता पुनः कहिले र कुन प्रक्रियामार्फत अघि बढ्न सक्छ भन्नेबारे थप आधिकारिक जानकारी आउन बाँकी छ ।
इरानको अवस्था र द्विपक्षीय सम्बन्धबारे पनि छलफल
राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पबिचको वार्तामा इरानसँग सम्बन्धित परिस्थितिका साथै रुस-अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा पनि छलफल भएको क्रेमलिनले जनाएको छ ।
दुवै राष्ट्रपतिले आपसी सम्पर्क कायम राख्ने तथा आ-आफ्ना प्रशासन, गुप्तचर निकाय र अन्य सम्बन्धित संस्थाबीच संवाद र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका छन । ।
अन्तर्राष्ट्रिय सुरक्षा, क्षेत्रीय स्थिरता र ऊर्जा आपूर्ति जस्ता विषयमा प्रमुख राष्ट्रबिच निरन्तर संवाद कायम रहनु महत्वपूर्ण मानिन्छ ।
यस सन्दर्भमा पुटिन र ट्रम्पबिच भएको पछिल्लो वार्ताले आपसी सम्पर्क तथा कूटनीतिक संवादलाई निरन्तरता दिने प्रयासलाई प्रतिबिम्बित गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको पछिल्लो टेलिफोन वार्तामा युक्रेन संकटको समाधान, अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति तथा द्विपक्षीय सम्बन्धका महत्वपूर्ण विषयमा विचार आदान प्रदान भएको छ ।
रुसले अन्तर्राष्ट्रिय बजारमा डिजेल इन्धन आपूर्ति बढाउने तत्परता व्यक्त गरेको छ भने अमेरिकाले रुसी मूलको डिजेल कारोबारका लागि अस्थायी अनुमति जारी गरेको विवरण सार्वजनिक भएको छ ।
यससँगै युक्रेन संकट समाधानका सम्भावना, सम्भावित त्रिपक्षीय वार्ता र आपसी सहकार्यलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ ।
उक्त संवादलाई अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, कूटनीतिक सम्बन्ध तथा क्षेत्रीय स्थिरतासँग सम्बन्धित विषयमा उच्चस्तरीय सम्पर्क कायम राख्ने महत्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ ।
आगामी दिनमा प्रस्तावित ऊर्जा आपूर्ति योजनाको कार्यान्वयन, युक्रेन संकट समाधानका लागि हुने कूटनीतिक पहल तथा रुस-अमेरिका सम्बन्धमा विकसित हुने परिस्थितिले यस वार्ताको व्यावहारिक महत्व थप स्पष्ट पार्ने छ । एपी सिन्ह्वा