२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अमेरिकाका ४७ औं राष्ट्रपति

ट्रम्पले लिए शपथ : प्रमुख नारा - " अमेरिका फर्स्ट " बिदेश नीति

आप्रवासन नीतिमा कडाइ : २०० कार्यकारी आदेशमा हस्ताक्षर

मंगलवार , माघ ८, २०८१

 

  • पछिल्लो जनगणना अनुसार अमेरिकामा १ लाख ८५ हजारदेखि २ लाख १५ हजार प्रवासी नेपाली,
  • प्रवासी नेपालीमध्ये ३४.७ प्रतिशत प्रविधि क्षेत्रमा कार्यरत सबै आयातमा १० प्रतिशत,
  • क्यानडा तथा मेक्सिकोका सामानमा २५ प्रतिशत र चीनबाट आयात हुने वस्तुमा ६० प्रतिशतसम्म कर लाग्ने

 

काठमाडौँ, माघ । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावमा निर्वाचित डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिका रूपमा सोमबार शपथ लिएका छन् ।  उनलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले राजधानी वासिङ्टन डीसीस्थित संसद् भवन यूएस क्यापिटल हिलको रोटुन्डा भवनमा आयोजित विशेष समारोहमा शपथ गराएका हुन् ।

ट्रम्प यसअघि सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए । नेपाली समयअनुसार राति १०ः४५ बजे भएको समारोहमा ट्रम्पसँगै जेडी भान्सले अमेरिकाको ५० औं उपराष्ट्रपतिको शपथ लिए । भान्सलाई भने न्यायाधीश ब्रेट काभानोले शपथ दिलाएका हुन् ।

सामान्यतः शपथ समारोह क्यापिटल हिलको बाहिर हुने भए पनि यस पटक अत्यधिक चिसोका कारण भवनभित्र गरिएको हो । यसअघि सन् १९८५ मा रोनाल्ड रेगनको शपथ समारोह पनि क्यापिटल हिलभित्र गरिएको थियो ।

शपथपछि ट्रम्पले अमेरिकामा आत्मविश्वास पुनःस्थापना गर्नुपर्ने बताए । अमेरिकाको स्वर्ण युग सुरु भएको बताउँदै उनले आफ्नो नेतृत्वमा अमेरिका फस्टाउने र सम्मानित हुने दाबी गरे ।

हामी राष्ट्रिय सफलताको रोमाञ्चक नयाँ युगको सुरुवातमा रहेको बारे म विश्वस्त र आशावादी छु, परिवर्तनको उभारले देशलाई व्यापक बनाएको छ, ट्रम्पले भनेका छन् । उनले इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गर्दै आफू शान्तिकामी भएको दाबी गरे ।

ट्रम्पको शपथ समारोहमा पूर्वराष्ट्रपतिहरू, नेताहरू र प्रभावशाली अर्बपतिहरू इलन मस्क र जेफ बेजोसलगायत उपस्थित थिए । शपथग्रहण समारोहका लागि करिब २ लाख समर्थकहरू वासिङ्टन पुगेका थिए । समारोहमा अमेरिकन आइडल विजेता तथा गायिका क्यारी अन्डरवुडले अमेरिका द ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् ।

अमेरिकी डिस्को समूह द भिलेज पिपुल ले पनि कार्यक्रममा प्रस्तुति दिने घोषणा गरेको छ । चुनावी अभियानका बेला ट्रम्पले आफ्ना र्यालीहरूमा उक्त समूहका वाईएमसीए र माचो म्यान गीतहरू बजाएका थिए । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पका लामो समयदेखि मित्र र सहकर्मी गायिका ली ग्रीनउड र ओपेरा गायक क्रिस्टोफर माचियोले पनि प्रस्तुति दिएका थिए ।

पद तथा गोपनीयताको शपथ लिएसँगै ट्रम्प र भान्स दुवैले अध्यागमनलगायतका २ सय वटा कार्यकारी आदेश जारी गरेका छन् । ती आदेशहरूमा आप्रवासन तथा सीमा, व्यापार तथा अर्थतन्त्र, जलवायु र ऊर्जा, लिखतहरूको गोप्यता, विदेश नीति, गर्भपतन, टिकटकलगायतका मुद्दा समावेश रहेका बीबीसीले जनाएको छ ।

ट्रम्पले आफूले जारी गरेका ऐतिहासिक कार्यकारी आदेशहरूले अमेरिकाको पूर्ण पुनःस्थापना र क्रान्तिको सुरुवात हुने उनको भनाइ छ । अमेरिकीहरूलाई आज मेरो सन्देश यो हो कि हामीले फेरि एक पटक साहस, जोस र इतिहासको सबैभन्दा ठूलो सभ्यताको जीवन्तताका साथ काम गर्ने समय आएको छ, ट्रम्पले भनेका छन् ।

आप्रवासन र सीमासम्बन्धी नीति अन्तर्गत ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन कार्यक्रम सुरु गर्ने वाचा गरेका छन् । फक्स न्युजका अनुसार उनले राष्ट्रिय सीमा आपत्काल घोषणा गर्ने र सेनालाई दक्षिणी सीमा सुरक्षित गर्न मद्दत गर्ने आदेश दिने अपेक्षा गरिएको छ ।

ट्रम्पले आफ्नो भाषणमा आप्रवासी संकटलाई सम्बोधन गर्न नसकेको भन्दै बाइडेन प्रशासनको कडा आलोचना गरे । अघिल्लो प्रशासनले हाम्रो देशमा अवैध रूपमा प्रवेश गरेका खतरनाक अपराधीहरूलाई सुरक्षित स्थान र सुरक्षा प्रदान गरेको छ, ट्रम्पले भनेका छन् ।

त्यस्तै, उनले संघीय अध्यागमन अधिकारीहरूलाई गिर्जाघर र विद्यालयहरूमा छापा मार्नबाट रोक्ने लामो समयदेखिको नीति अन्त्य गर्ने बताएका छन् । तर, यस्ता सामूहिक निर्वासन कार्यक्रम लागू गर्न अर्बौं डलर खर्च हुने र कानुनी चुनौतीहरूको सामना गर्ने जनाइएको छ ।

ट्रम्पले मेक्सिकोमै रहनुस्, नीति कडाइका साथ लागू गर्ने जनाएका छन् । त्यसका लागि उनले अमेरिका मेक्सिको सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्ने, लागूऔषध कारोबारीलाई आतंककारी घोषित गर्ने भएका छन् । पहिलो कार्यकालमा ट्रम्पले मेक्सिको सीमाबाट अमेरिका पसेका ७० हजार गैरमेक्सिकन शरणार्थीलाई फिर्ता गरेका थिए  मेक्सिको सीमामा पर्खाल लगाउने उनको योजना त सन् २०१७ देखिकै हो । उनले पहिलो कार्यकालमा नै सीमामा पर्खाल बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

पर्खालका केही भागहरू निर्माण गरिएको भए पनि अझै धेरै काम बाँकी छ । यो कार्यकालमा उनले ती पर्खाललाई पूर्णता दिने प्रयास गर्नेछन् । त्यस्तै, उनले अमेरिकी माटोमा जन्मेकै आधारमा जो कोही पनि अमेरिकी नागरिक हुने १५० वर्ष पुरानो संवैधानिक अधिकार हास्यास्पद भएको बताउँदै खारेज गर्ने बताएका छन् । तर जन्मसिद्ध नागरिकताको अधिकार अमेरिकी संविधानले स्पष्ट रूपमा ग्यारेन्टी गरेका कारण कार्यकारी आदेश जारी गरेकै कारण हट्ने सम्भावना देखिँदैन ।

अमेरिकी उत्पादनलाई प्राथमिकता दिने बताउँदै आएका ट्रम्पले आयातित सामानहरूमा व्यापक कर लगाउने भएका छन् । पहिलो कार्यकालमा ट्रम्पले चीनविरुद्ध लगाएका केही करलाई जो बाइडेनले निरन्तरता दिएका थिए । यस पटक उनले सबै आयातमा १० प्रतिशत कर लगाउने र क्यानडा तथा मेक्सिकोका सामानमा २५ प्रतिशत कर लगाउने भएका छन् ।

चीनबाट आयात हुने वस्तुहरूमा ६० प्रतिशतसम्म कर लगाउने विषयमा उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताइएको छ । तर, यस्ता करले अमेरिकामा उपभोग्य वस्तुहरू अझ महँगो बनाउने र मुद्रास्फीति बढाउन सक्ने विशेषज्ञहरू बताउँछन् ।

चिनियाँ सामानमा करको दायरा बढाउने घोषणा गरे पनि उनले शपथग्रहण समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई निम्तो दिएका थिए । तर, राष्ट्रपति सीले विशेष प्रतिनिधिका रूपमा समारोहमा भाग लिन उपराष्ट्रपति खान जङलाई वासिङ्टन पठाएका छन् । त्यसका साथै, ट्रम्पले चीन भ्रमणका लागि इच्छुक रहेको बताइसकेका छन् । ट्रम्पले जो बाइडेन प्रशासनले लागू गरेका जलवायु नीतिहरू खारेज गरेका छन् । निवर्तमान राष्ट्रपति बाइडेनले हरित रोजगारीलाई बढावा दिन, प्रदूषण नियमन र पूर्वाधारलाई सबैभन्दा ठूलो उपलब्धिका रूपमा अघि सारेका थिए । ट्रम्पले अमेरिकी ऊर्जा उत्पादन बढाउने भएका छन् । त्यस्तै, जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका अलग हुने ट्रम्पको नीति छ । सन् २०१७ मा राष्ट्रपतिको पदभार ग्रहण गरेको ६ महिनाभित्र उनले पेरिस जलवायु सम्झौताबाट अलग हुने निर्णय लिएका थिए । सन् २०२१ मा राष्ट्रपति बनेसँगै बाइडेनले सम्झौतामा पुनः सामेल हुने निर्णय गरेका थिए । ट्रम्पले सन् २०२१ को जनवरी ६ को क्यापिटल हिल दंगामा दोषी ठहरिएका सयौं व्यक्तिहरूलाई क्षमादान गरेका छन् । घटनामा संलग्न १५ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो । तीमध्ये कम्तीमा ६ सय जनामाथि संघीय अधिकारीहरूलाई आक्रमण वा अवरोध गरेको आरोप लगाइएको थियो । ट्रम्पले १९६३ मा राष्ट्रपति जोन एफ केनेडीको हत्या र सन् १९६८ मा सिनेटर रोबर्ट केनेडी र नागरिक अधिकार नेता मार्टिन लुथर किङ जुनियरको हत्यासँग सम्बन्धित गोप्य दस्ताबेजहरू सार्वजनिक गर्ने भएका छन् । विदेश नीतिलाई पनि ट्रम्पले प्राथमिकता राखेका छन् । यसअघि उनले रुस -युक्रेन युद्ध पहिलो दिनमै अन्त्य गर्ने बताएका थिए । तर, पछि उनले युद्ध अन्त्यका लागि ६ महिना लाग्न सक्ने बताएका थिए । यसबारे के गर्ने भन्ने प्रस्ट भएको छैन । ट्रम्पले क्युबालाई आतंकवादको राज्य प्रायोजकहरूको अमेरिकी सूचीबाट हटाउन बाइडेनको हालैको निर्णय रद्द गर्न पनि कार्यकारी आदेश जारी गरेको बताइएको छ । उनले भेनेजुएलाविरुद्धको प्रतिबन्ध पुनःस्थापना गर्न पनि सक्छन् । अघिल्लो प्रशासनमा पनि यी दुवै देशहरू ट्रम्पको निसानामा परेका थिए । ट्रम्पले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनलाई स्थगन गरेका छन् । उनको आदेशले कम्पनीको ५० प्रतिशत सेयर किन्न अमेरिकी साझेदार खोज्न समय दिएको छ । यसअघि टिकटकमाथि प्रतिबन्धको पक्षमा देखिएका ट्रम्पले गत चुनावमा आफ्ना भिडियो अर्बौंले हेरेको भन्दै भिडियो प्लेटफर्महरूमा आकर्षित भएका थिए । सन् २०२० को अमेरिकी जनगणनाअनुसार अमेरिकामा १ लाख ८५ हजारदेखि २ लाख १५ हजार प्रवासी नेपाली रहेको अनुमान छ । सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको अध्ययनअनुसार अमेरिकामा रहेका प्रवासी नेपालीमध्ये ३४.७ प्रतिशत प्रविधि क्षेत्रमा कार्यरत छन्  ट्रम्पले अघि सारेका आप्रवासनलगायतका मुद्दाले भने अमेरिकामा रहेका नेपालीहरू पनि प्रभावित हुने देखिन्छ । खासगरी, विद्यार्थीका रूपमा अमेरिका पुगेर स्थायी बसोबासको तयारी गरिरहेकाहरू, भिजिटलगायतका भिसामा अमेरिका पुगेर बसिरहेकाहरू तथा अवैध बाटोबाट अमेरिका पुगेकाहरू प्रभावित हुने निश्चित छ  अमेरिकामा अध्ययनरत विद्यार्थी तथा दक्ष कामदारहरू माझ डर र अनिश्चितता फैलिएको छ । अमेरिकामा शैक्षिक सत्र २०२३/०२४ अन्तर्गत ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनरत छन् । अन्तर्राष्ट्रिय विद्यार्थीसँग सामान्यतया गैरआप्रवासी भिसा हुन्छ । यस्तो भिसाले उनीहरूलाई अमेरिकामा अध्ययन गर्न अनुमति दिने भए पनि देशमा बस्नका लागि कानुनी मार्ग प्रदान गर्दैन । यसको अर्थ ठूलो धनराशि खर्चेर अमेरिका पुगेका अधिकांश विद्यार्थीहरू अध्ययन सकेलगत्तै फर्कनुपर्ने अवस्था आउन सक्छ । त्यस्तै, अमेरिकाले एच १बी भिसामार्फत हरेक वर्ष करिब ८५ हजार जनालाई आप्रवासन अनुमति दिने गरेको छ । उनले ट्रम्पले आफ्नो पहिलो कार्यकालमा एच १बी भिसामा प्रतिबन्ध लगाएका थिए । ट्रम्पले सबैखाले वर्ग, उच्च दक्ष जनशक्तिहरूलाई रोजगार दिने विविधता, समानता र समावेशीकरण (डीईआई) नीति खारेज गर्न ठूला प्रविधि कम्पनीहरूलाई दबाब दिइरहेका छन् । मेटा, वालमार्ट र अमेजनलगायतका प्रमुख कम्पनीहरूले यो नीति खारेज गरिसकेको जनाइएको छ । यद्यपि उनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्धमा भने खासै फरक पर्ने सम्भावना देखिँदैन । तर, ट्रम्प प्रशासनले अख्तियार गर्ने कतिपय नीतिले भने नेपाललाई अप्रत्यक्ष प्रभाव पार्न सक्छ । त्यसमा जलवायु परिवर्तनदेखि स्वास्थ्यलगायतका क्षेत्रहरू पर्नेछन् । त्यसका साथै, अमेरिकाले नेपाललाई विभिन्न शीर्षकअन्तर्गत दिँदै आएको सहयोग पनि कटौती हुने सम्भावना छ । पछिल्लो पाँच वर्षमा अमेरिकाले नेपाललाई करिब एक खर्ब रुपैयाँभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ । त्यस्तै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) ले सन् २०२४ जुलाईमा पाँच वर्षको अवधिमा करिब ६५ करोड ९० लाख अमेरिकी डलर (करिब ९२ अर्ब रुपैयाँ) बराबरको सहयोग उपलब्ध गराउने जनाएको थियो । ट्रम्पले अमेरिका फर्स्ट लाई विदेश नीतिको प्रमुख नाराका रूपमा अघि सारेका छन् । यस अर्थमा एसियामा उनको विदेश नीति नेपालका दुई छिमेकी भारत र चीनमा केन्द्रित हुने देखिन्छ । पहिलो कार्यकालमा ट्रम्पले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव कायम राख्ने र चीनको प्रभाव कम गर्ने उद्देश्यले इन्डोप्यासिफिक रणनीति घोषणा गरेका थिए । कार्यकारी आदेश राष्ट्रपतिद्वारा संघीय सरकारलाई जारी गरिने लिखित आदेशहरू हुन् । नीतिगत परिवर्तनहरूका लागि राष्ट्रपतिले जारी गर्ने यस्ता आदेशका लागि संसद्को अनुमोदन आवश्यक पर्दैन । तर, यस्ता कार्यकारी आदेशहरू कानुनको दायराभित्र रहनुपर्छ र तिनीहरूको कानुनी समीक्षा पनि हुन सक्छ ।

पहिलो कार्यकालमा ट्रम्पले २२० कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । तीमध्ये केहीले अदालतमा चुनौतीको सामना गरेका थिए । तर, संसद्‍का दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत रहेको अवस्थामा ट्रम्पले गरेका लगभग सबैजसो आदेशहरू कार्यान्वयनमा आउने देखिन्छ । त्यसमाथि ट्रम्पको कब्जामा भएकाले सत्तारूढ रिपब्लिकन पार्टीभित्रबाट पनि उनले कुनै चुनौतीको सामना गर्नॅपर्ने देखिँदैन ।

निवर्तमान राष्ट्रपति जो बाइडेनले १६० कार्यकारी आदेश जारी गरेका थिए । लगातार दुई कार्यकाल राष्ट्रपति बनेका बाराक ओबामा र जर्ज बुसले क्रमशः २७७ / २९१ वटा कार्यकारी आदेश जारी गरेका थिए । ट्रम्प नोभेम्बर ५ मा भएको चुनावमा रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतिमा विजयी भएका थिए । उनले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गरेका हुन् । ट्रम्प ३१४ इलेक्टोरल मतसहित विजयी भएका हुन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत आवश्यक पर्छ । ह्यारिसले २२६ इलेक्टोरल मत पाएकी थिइन् । यसअघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए । २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराएका ट्रम्प सन् २०२० मा जो बाइडेनसँग पराजित भएका थिए ।

चार वर्षअघि बाइडेनसँग पराजित भएका ट्रम्पले चुनावी नतिजा अस्वीकार गरेका थिए । त्यस क्रममा ट्रम्पले कार्यकर्तालाई उक्साएका कारण २०२१ जनवरी ६ मा संसद् भवन क्यापिटल हिलमा दंगा मच्चिएको थियो । त्यसले अमेरिकी राजनीतिमा उनको छवि नराम्ररी बिग्रिएको थियो । उक्त कदमपछि ट्रम्प विपक्षी डेमोक्रेटिकका साथै केही रिपब्लिकन नेताको आलोचनाको सिकार बनेका थिए । त्यसयताका चार वर्षमा उनले विभिन्न झमेला झेले ।

उनीविरुद्ध संघीय र विभिन्न राज्यका अदालतमा मुद्दा दायर भए । केही मुद्दामा दोषी ठहर भए । तर, उनी पार्टीभित्रको दबदबा कायम राख्दै रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएका थिए । त्यसपछि सम्हालिएका ट्रम्प पुनः अमेरिकी राजनीतिको सर्वोच्च पदमा आइपुगेका हुन् । स्रोत : विभिन्न एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार