काठमाडौँ, असार । नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्त्वपूर्ण मुद्दाको सम्बोधन गर्न कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ।
मंगलबार कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
उनले संविधानसहितका मुद्दाहरूलाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताए ।
उनले भनेभने, ‘देशको महत्त्वपूर्ण मुद्दाहरू छन् । संविधानको विषय छ । यी तमाम मुद्दालाई केन्द्रित गरेर मात्रै हामी सरकार निर्माणमा संलग्न हुन्छौं । खाली सत्तामा जानका लागि मात्रै हामी समझदारी गर्दैनौँ भनेका थियौँ । '
'अन्तत्वगत्वा महत्त्वपूर्ण मुद्दालाई आम जनताको चासो र चिन्ताको विषय छ, सरोकारको विषय छ, त्यसलाई केन्द्रबिन्दुमा राखेर एउटा समझदारी एमाले पार्टीसँग भएको छ ।'
उनले आम नागरिकका समस्यालाई केन्द्रमा राखेर नेकपा एमालेसँग सरकार बनाउने सहमति भएको बताए ।
उनले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो भएको, सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो भएकाले पनि दुई ठूला दलहरूको सरकार आवश्यक रहेको बताए ।
उनले दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकता अनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको बताए ।
सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको उनले बताए ।
समझदारीलाई अन्तिम रुप दिन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गर्ने उनको भनाइ छ ।
उनले भने, ' त्यो समझदारीमा मुलभुत रुपमा स्थायित्वको जुन समस्या छ, आम जनता पनि त्यसबाट चिन्तित छन् । त्यसले आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो पारेको छ ।
सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो पारेको छ । अन्योलको स्थिति सिर्जना भएको छ । त्यसलाई महत्त्वपूर्ण आधार बनाएका छौँ ।'
संविधानमा आवश्यक संशोधनका लागि पनि राष्ट्रिय सहमति निर्माण गर्ने र त्यो प्रक्रियालाई अगाडि बढाउने र जुन आर्थिक स्थिति छ, विकास निर्माणमा देखिएको अन्योलको स्थिति छ, त्यसलाई अन्त्य गर्न स्थिर राजनीति, संविधानलाई सामुहिक रुपमा संशोधन गर्ने र सहमति जुटाउने हिसाबले अघि बढ्न दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको छ र नेतृत्व ओलीजी र हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने भन्ने आधारमा मोटामोटी समझदारी भएको छ ।’
उनले राष्ट्रपति निवासमा सोमबार राति सभापति देउवा र अध्यक्ष ओली पुगेको भन्नेकुरामा कुनै सत्यता नरहेको र संविधानका सवालमा आयोग बन्ने र ड्राफ्ट नै भइसक्यो भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।