काठमाडौँ, असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना दलका सांसदहरुलाई बजेट पास नहुँदासम्म संसद्का सबै बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
संसदीय दलको शुक्रबार बसेको बैठकमा संसदीय दलका नेता एवम् पार्टी सभापति शेरबहादुर देउवाले बजेट पास नहुँदासम्म संसद्का सबै बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका हिसावले संसद्मा उठाउनुपर्ने जनताका सवालहरुलाई अझ प्रखररुपमा उठाउने र समाधानका लागि सरकारलाई दबाब दिनेबारे छलफल भएको थियो ।
बैठकले वर्तमान सरकारले ल्याएको बजेट असन्तुलित र अपरिपक्क ढंगको विनियोजन रहेको भन्दै कांग्रेसले राखेका खर्च कटौतीका प्रस्तावको पक्षमा उभिने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले बताए ।
'बजेट पास नहुँदासम्म संसद्मा अनिवार्य उपस्थित हुन सांसदहरुलाई निर्देशन भएको छ,' बैठकपछि प्रमुख सचेतक लेखकले भने, 'अहिलेको बजेटमाथिको छलफल सकिएर अब निर्णयार्थ पेश हुने बेला छ ।
बजेट असन्तुलित छ । मन्त्रीहरुले असन्तुलित र अपरिपक्क ढंगले बजेट बनाएका छन । अहिलेको बजेट अन्यायपूर्ण छ, पूर्वाग्राही छ, अन्यायपूर्ण छ भन्ने कुरा हामीले मात्रै होइन, सत्तापक्षकै सांसदहरुले पनि भनिरहेका छन ।
त्यसकारण हामीले बजेटमा खर्च कटौतीका प्रस्तावहरु राखेका छौँ । हामी हाम्रो प्रस्तावको पक्षमा उभिन्छौँ, उभिनुपर्छ भन्ने कुरा भएको छ ।'
प्रमुख सचेतक लेखकले संसद्का आगामी बैठकहरुमा जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर उठाउनेबारे छलफल भएको बताए ।
'संसद्मा हाम्रा धेरै साथीहरुको उपस्थिति कमजोर देखिएको छ । त्यसकारण हामीले पार्टी प्रतिपक्षमा भएको बेला जनजीविकाका सवालहरु सक्रियरुपले उठाउनका लागि अझै मेहिनेत गर्नुपर्नेछ भनेर छलफल भएको छ,' उनले भने ।