काठमाडौँ, वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गर्ने भूमिका निर्णायक भएको बताएका छन ।
कोशी प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनमा अध्यक्ष नेपालले एकीकृत समाजवादीले संविधानको रक्षा गर्दै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गरेकाले भूमिका निर्णायक बन्दै गएको बताए ।
कुनै पनि दलले एकीकृत समाजवादीलाई सानो दल वा कमजोर आकलन नगर्न चेतावनी दिँदै त्यस्तो भुल कसैले गरेमा सह्य नहुने प्रष्ट पारे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीले देश र जनताको हितलाई सर्वोपरी राखेको बताए । उनले अहिलेको राजनीतिमा उथुलपुथल पार्ने क्षमता एकीकृत समाजवादी पार्टीसँग भएको उल्लेख गर्दै आफ्नो पार्टी कम्युनिष्ट आदर्श तथा मूल्य–मान्यता अनुसार अगाडि बढेको बताए ।
उनले भने, “हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ, हामी स्वाभिमानी छौँ ।”
उनले सुदूरपश्चिममा चार सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको भन्दै बागमती, मधेससहितका प्रदेशमा एकीकृत समाजवादीको सहभागिताबिना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रष्ट पारे ।
उहाँले लोकतान्त्रिक आचरण बोकेका सबै दलसँग समन्वय र सहकार्यको खाँचो औँल्याए । व्यक्तिवाद हाबी भएका कम्युनिष्ट पार्टीसँग कार्यगत एकता नहुने अध्यक्ष नेपालको भनाइ थियो ।