ब्रसेल्स, वैशाख । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलव्ध गराएका छन् ।
नाटोका प्रमुख जेन्स स्टोल्टेन बर्गका अनुसार युक्रेनलाई एक हजार ५५० वटा बख्तबन्द गाडी र २३० वटा ट्याङ्क प्रदान गरिएको छ । अघिल्लो वर्षको फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो ।
आज ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नाटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता अनुरुप ९८ प्रतिशत सैन्य सहायता नाटोबाट प्रदान गरिएको बताए ।
युक्रेनका नौ वटा नयाँ ब्रिगेडलाई तालिम दिइएको तथा ती युद्धदस्तालाई हातहतियारले सुसज्जित गरिएको जानकारी पनि उनले दिएका छन ।
चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता
यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गरेका छन । सो अवसरमा उनीहरूबीच भएको कुराकानीका केही झलकहरु यस्ता छन् ।
युक्रेन सङ्कट
राष्ट्रपति सीले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता नै एक मात्र व्यावहारिक उपाय भएको बताउँदै आणविक युद्धमा कसैको जित नहुने धारणा राखेका छन ।
चीनले युरेसियाली मामिलासम्बन्धी चिनियाँ सरकारको विशेष प्रतिनिधिलाई युक्रेन र अन्य देशको भ्रमण गर्न पठाउने र जारी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षहरूसँग गहिरो समन्वय गर्न पनि उनले बताए ।
युक्रेन सङ्कटमा चीन सधैं शान्तिको पक्षमा उभिएको र यसको मुख्य अडान शान्तिको लागि वार्तालाई सहज बनाउनु रहेको पनि राष्ट्रपति सीको धारणा छ ।
उनले चार बुँदे प्रस्तावहरूमा अन्तरराष्ट्रिय समुदायले मिलेर गर्नुपर्ने चारवटा कुरा र तीनवटा अवलोकनहरू उल्लेख गरे । सो प्रस्तावनामा चीनले युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो स्थिति सार्वजनिक गरेको पनि उल्लेख गर्नु भएको छ ।
‘चीनले न त युक्रेन सङ्कट सृजना गरेको हो न त यो सङ्कटको पक्षमा छ’ सीले भने । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य र जिम्मेवार प्रमुख देशको रूपमा चीन चुपचाप बस्दैन( उनले भने ।
सबै पक्षले युक्रेन सङ्कटलाई गम्भीरतापूर्वक विचार गर्ने र वार्ताको माध्यमबाट युरोपमा दिगो शान्ति र सुरक्षा ल्याउने उपायहरू संयुक्त रूपमा खोज्ने आशा पनि सीले व्यक्त गरेका छन । विभिन्न एजेन्सी