२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सप्तरीमा दुई गठबन्धन

रोचक प्रतिस्पर्धा :  " ह्याट्रिकको दाउमा कांग्रेसका तेजुलाल चौधरी "

सोमवार , कार्तिक २८, २०७९


सप्तरी, कात्तिक । सप्तरी–४ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले–जसपाको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको हो । सत्तारुढ गठबन्धनले कांग्रेसका तेजुलाल चौधरीलाई अघि सार्दा एमाले–जसपा गठबन्धनले जसपाका बालकिशोर यादवलाई मैदानमा उतारेको छ । 
दुई गठबन्धनका उम्मेदवारबाहेक  जनमत पार्टीका सुकदेव साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मकुन चौधरी, राप्रपा नेपालका कपिलदेव यादव, नागरिक उन्मुक्ति पार्टीका देमन मियाँ, बहुजन शक्ति पार्टीका विश्वेन्दर पासवान, नेपाल आमा पार्टीका देवानन्द चौधरी, नेपाल सदभावना पार्टीका संजोग चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका मो. इरफान आलम चुनावी प्रतिस्पर्धामा छन् । 
यस्तै माधुरीकुमारी साह, जियाउल रहमान, शंकरलाल चौधरी, छेदीलाल पासमान, काशिम मियाँ, सुरेशकुमार चौधरी थारुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर सप्तरी–४ को ग्राउन्ड रियालिटी हेर्दा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ । 
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा यो क्षेत्र कांग्रेसले जितेको थियो । देशभर वाम गठबन्धनको लहर आउँदा कांग्रेसले जितेका २३ निर्वाचन क्षेत्रमध्येको एक हो–सप्तरी ४ । यो क्षेत्रमा अहिलेकै उम्मेदवार तेजुलाल चौधरीले जित निकालेका थिए । 
चौधरी २४ हजार ११३ मत ल्याएर विजयी हुँदा तत्कालीन राष्ट्रिय जनता पार्टीका  मृगेन्द्र कुमार सिंह यादव १४ हजार ८८६ ल्याएका थिए । एमालेका मो. इस्लामले १४ हजार ३०५ मत मात्रै प्राप्त गरेका थिए ।  
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस नै बलियो स्थितिमा देखिन्छ । कांग्रेसका वडाअध्यक्ष उम्मेदवारले १६ हजार ९७५ मत प्राप्त गरेका थिए । जनता समाजवादी पार्टीका उम्मेदवारले १५ हजार ६८२ मत ल्याउँदा एमालेका उम्मेदवारले १० हजार ४४ मत ल्याएका थिए । 
नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ८ हजार ४५०, माओवादीका उम्मेदवारले ६ हजार ९२०, जनमतले पार्टी ५ हजार ४०२, लोसपाले ३ हजार ८४८ र  राप्रपाले ५०३ मत प्राप्त गरेका थिए । यो मतलाई आधार मान्दा सप्तरी–४ मा तेजुलालको पक्षमा ३६ हजार १९३ मत देखिन्छ । बालकिशोरका पक्षमा २५ हजार ७२६ मत देखिन्छ । यही भोट प्याट्रन आगमी निर्वाचनमा कायम रहे सप्तरी–४ सत्ता गठबन्धनका लागि सहज देखिन्छ । 
यो क्षेत्रमा सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, बोदेवरसाइन नगरपालिका र बलान विहुल गाउँपालिका गरी चार पालिका रहेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले सुरुङ्गा नगरपालिका, जसपाले बोदे बरसाइन नगरपालिका, नेकपा (माओवादी केन्द्र) ले खडक नगरपालिका र जनमत पार्टीले बलान बिहुल गाउँपालिकाको प्रमुख पदमा जित हात पारेको थियो ।  
यस क्षेत्रमा १३३ मतदान केन्द्र छन् ।  यहाँ ५३ हजार १८० पुरुष, ५१ हजार ७०८ महिला र अन्य ५ गरी कुल १ लाख ४ हजार ८९३ मतदाता छन् ।


ह्याट्रिक दाउमा तेजुलाल, पहिलो प्रयासमा बालकिशोर 
सप्तरी–४ मा सत्ता गठबन्धनले उम्मेदवार बनाएका चौधरी ह्याट्रिक गर्ने दाउमा छन् । यसअघि यही क्षेत्रबाट २०७० र २०७४ सालमा जितिसकेका उनी ह्याट्रिक गर्ने अभियानमा छन् । उनी यसपटक आफ्नो जित पक्का रहेको दाबी गर्छन् ।  
‘म यस पटक १०० प्रतिशत चुनाव जित्छु, लेखेर राख्नुहोला,’ चौधरीले भने । आफ्नो जितप्रति विश्वस्त देखिएका चौधरी यसअघि आफूले गरेका काम नै जितको आधार भएको तर्क गर्छन् ।   
‘विगतमा मैले गरेका काम नै मेरो चुनाव जित्ने पहिलो आधार हुन् । म भ्रष्टाचार विरोधी मान्छे हुँ । मेरो पहलमा र निर्वाचन क्षेत्र विकास कोषबाट जुन बजेट यो क्षेत्रमा आएको छ । कसैले पनि एक पैसा खान पाएको छैन र दिएको छैन,’ उनले भने । 
उनले अबको कार्यकालमा क्षेत्रको विकासमा आफूसँग स्पष्ट योजना  रहेको बताए । ‘गुणस्तरीय शिक्षाका पहल र प्रयत्न गर्नेछु । यो क्षेत्रमा शिक्षा र स्वास्थ्यको समस्या छ । म त्यसका लागि पहल गर्छ । किसानका लागि सिंचाईको सुविधा छैन् । त्यो समस्या समधान गर्न सकिन्छ । त्यसमा काम गर्नेछु । युवाहरु वेरोजगार छन्, रोजगारी दिलाउने प्रयत्न गर्ने छु,’ उनले भने, ‘कृषि उत्पादनमा जोड दिन्छु, गुणस्तरीय खानेपानी उपलब्ध गराउने र सबै सडक कालोपत्रे गर्ने मेरा योजना छन् ।’
जसपाका बालकिशोर यादव भने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् । उनी जनताले चाहे आफू सांसद् बन्ने तर अहिनै जित निश्चित भइसकेको भनेर दाबी गर्दै नहिँड्ने बताउँछन् । सप्तरी–४ मा जनता र जनप्रतिनिबीचको सम्बन्ध टुटेको दाबी उनको छ । ‘जनता र जनप्रतिनिधिबीचको जुन रिलेसन छ । त्यो टुटेको छ । म त्यसलाई जोड्न चाहान्छु,’ उनले भने, ‘जनताले  गरेर मौका दिए भने म जिम्मेवारी लिएर जनताको काम गर्छु । पहिलो पटक परिवर्तनको एजेन्डा लिएर चुनावी मैदानमा छु ।’ 
एमाले र जसपाबीच चुनावी तालमेलप्रति मतदाताले बारम्बार प्रश्न उठाइरहेका छन् । उनीहरुले सप्तरीको मलेठ घटनासँग जोडेर एमाले–जसपाका उम्मेदवार बालकिशोरसामु तेर्साइरहेका छन् । 
संविधानसँग जारी भएसँगै असन्तुष्टि जनाउँदै भएको मधेस आन्दोलनको लगत्तै (०७३ फागुन २३) मा एमालेको मेची–काली अभियानका क्रममा भएको घटनाले ५ जनाको ज्यान गएको थियो । एमालेको अभियानका क्रममा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको कार्यक्रममा तत्कालीन मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको थियो ।  
प्रदर्शनकारीको ठूलो संख्या मञ्चतर्फ अघि बढेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर मलेठका पिताम्बर मण्डल, सन्जन मेहता, विरेन्द्र महतो, प्रसवनीका आनन्द साह र इनर यादवको मृत्यु भएको थियो । अहिले बालकिशोरलाई एमालेका कारण मलेठ घटना घट्न पुगेको दाबी गर्दै एमालेसँग गठबन्धन गर्नुको कारण के हो? भनेर प्रश्न गरिरहेका छन् । ‘एमालेसँग किन तालमेल गर्नु भयो भन्ने प्रश्न उठ्ने गरेको छ । पार्टीलाई अघि बढाउन प्रजातन्त्रिक मूल्य मान्यता अनुसार नै गठबन्धन गर्नुपरेको हो भनेर जवाफ दिने गरेको छु ।’ 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार