संविधानको रक्षा र कार्यान्वयनका लागि सत्ता गठबन्धन दलबीच चुनावी तालमेल भएको भन्दै चुनाव चिन्हमा नअल्मलिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेका छन् । उनले चुनाव चिन्हलाई लिएर कांग्रेस, माओवादी वा अरु कसैले आग्रह पूर्वाग्रह नराख्नसमेत आग्रह गरे ।
काठमाडौं क्षेत्र नं. २ मा सत्ता गठबन्धनले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले रुख र हँसिया हथौडालाई पहिल्यै एक गरिसकेको प्रसंग उल्लेख गरे । हँसिया हथौडाले रुखमा कसरी भोट हाल्ने ?
रुखले हँसिया हथौडामा कसरी भोट हाल्ने ? भनेर आग्रह पूर्वाग्रह हुने गरेको कुरा सुनेको छु। तर यो अर्थहीन छ, दाहालले अघि भने, म तपाईंहरूलाई स्मरण गराउन चाहान्छु कि हामीले धेरै पहिले नै रुख र हँसिया हथौडालाई एक बनाइसकेका हौँ ।
जतिबेला हामीले शान्ति सम्झौता गर्यौँ, त्योबेला सात दलको तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेको थिएँ ।
त्यो भनेकै मैले रुखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हाने बराबर हो। उनले त्योबेला सात दलको नेतामा केपी ओली भएको भए १२ बुँदे समझदारी र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्मै आइनपुग्ने अवस्था रहेको बताए।
त्योबेला सात दलमा एमालको नेता माधवकुमार नेपाल पनि हुनुहुन्थ्यो । एमालेमा अहिले अनेक तिकडम गर्ने नेताहरू त्यो बेला थिएनन् । ती नेता भएको भए सायद १२ बुँदे समझदारी हुने र मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म आउने अवस्था हुने थिएन ।