सत्ता गठबन्धनको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं २ मा उम्मेदवार रहेकी माओवादी नेता ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
आज काठमाडौं–२ मा सत्ता गठबन्धनले गोठाटारको काँडाघारीमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले भने, घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरे । सुरुमा सभामुखको रुपमा घर्तीप्रति विश्वास नरहेको पनि देउवाको भनाइ थियो ।
‘ओनसरी घर्ती अत्यन्तै साहसी महिला हुन । उनले कुशलताका साथ सभामुखको भूमिका निर्वाह गरेको धारणा राख्दै देउवाले भने, ‘मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले संसद चलाईन ।’
देउवाले माओवादी केन्द्रबाट निर्वाचित भए पनि ओनसरीले कहिल्यै पार्टीको आशिर्वाद नखोजेको उल्लेख गरे । देउवाले ओनसरीले पार्टीको आदेशमा नभई आत्माको आदेशमा चलेको र उनी सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुखको भूमिकामा रहेको भन्दै प्रसंसा गरे ।
देउवाले ओनसरीलाई जिताउन कांग्रेस नेता कार्यकर्ता र काठमाडौं क्षेत्र नम्बर–२ का मतदातालाई अपिल गर्दै उनले सो क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरेका थिए ।