२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्तारुढ गठबन्धन बैठक

प्रतिनिधिसभातर्फको क्षेत्र बाँडफाँट अन्तिम चरणमा : " प्रदेशसभाको शनिबार सम्पन्न गरिने"

शुक्रवार , आश्विन २१, २०७९


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी (जसपा) बाहिरिएको छ । जसपाकै कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेको पाँच दलीय कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए । 
शीर्ष नेताको आजको बैठकमा पनि कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विषयमा छलफल भयो ।
प्रतिनिधिसभातर्फको करिब अन्तिम भएकाले प्रदेशसभाका विषयमा छलफल भइरहेको छ । प्रदेशसभाको बाँकी छलफल शनिबार गर्ने निष्कर्षका साथ आजको बैठक केहीबेरअघि सकिएको जानकारी पनि उनले दिए ।  
निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रुप दिन निर्णायक वार्तामा नेताहरु जुटेका थिए ।  
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ ।त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब एक दिनमात्र बाँकी रहेकाले पनि शनिबार बिहानै सहमतिलाई अन्तिम रुप दिने तयारी गरिएको छ ।  
जसपा बैठकबाट बाहिरिएपछि दुई ठूला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि छलफल गरिरहेका छन् । लोसपा पनि भोलिको गठबन्धन बैठकमा सहभागी हुनसक्ने जनाइएको छ । 
सत्ता गठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार