२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस प्रचार अभियान

आजदेखि 'जनताको साथमा कांग्रेस'  :  '१५ दिने अभियानमा केन्द्रिय नेता ७७ वटै जिल्ला पुगे'

शुक्रवार , भाद्र १०, २०७९


काठमाडौँ , भदौ ।

नेपाली कांग्रेसले आजदेखि  ‘जनताको साथमा कांग्रेस’ अभियान सुरू  गर्दैछ । कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचारप्र सारका लागि  देशव्यापी रुपमा संगठन सुदृढिकरण र प्रचार प्रसार अभियान चलाउन लागेको हो ।

अभियानका लागि कांग्रेसले केन्द्रीय समितिबाट ७७ वटै जिल्लामा प्रतिनिधिहरू खटाएको छ । नेताहरू अभियानका गतिविधि गर्न जिल्ला–जिल्ला पुगिसकेका छन् ।
सहमहामन्त्री जीवन परियारले ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत कांग्रेसको योगदान, एजेन्डा र सूचनाहरू लिएर पार्टीको पक्षमा जनमत सिर्जना गर्न टोल–टोलसम्म पुग्ने  सञ्चारकर्मीलाई बताएका छन  । 
उनले भने,  अभियान अन्तर्गत ७७ वटै जिल्ला, १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश निर्वाचन क्षेत्र, ७५३ स्थानीय तह र ६६७४३ वटै वडासम्म पार्टी र भ्रातृ संस्थाले चुनाव लक्षित गतिविधि सञ्चालन हुनेछन् ।अभियान अन्तर्गत तीन चरणमा विभिन्न कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत आज, शुक्रबार, देखि भदौ २४ सम्म जनताको घरदैलोमा पुग्ने, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि अभियान चल्नेछ ।
सहमहामन्त्री परियारले अभियानको क्रममा मुलुकको वर्तमान राजनीतिमा कांग्रेसको भूमिका र आगामी पाँच वर्षका लागि चुनावी एजेण्डाबारे जनतालाई प्रशिक्षित गर्ने गतिविधि सञ्चालन हुने बताए ।
अभियानका लागि सातवटै प्रदेश समिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति र पालिकास्तरीय कार्यसमितिहरूले समेत टोल–टोलसम्म प्रतिनिधि खटाएका छन

कांग्रेसका अनुसार अभियानका मुख्य ४ उद्देश्य छन् :

  • मंसिर ४ मा हुने निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने ।
  • जनताको घर–आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने ।
  • कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने
  •  निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने ।

जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिले के गर्छन् ?

कांग्रेसले केन्द्रबाट ७७ वटै जिल्लाका लागि खटाएका नेताहरूलाई विभिन्न गतिविधि गर्न जिम्मेवारी दिएको छ । कांग्रेसले १५ दिनसम्म चल्ने पहिलो चरणको अभियानमा नेताहरू कम्तीमा पाँच दिनसम्म जिल्लामै बस्नुपर्नेछ भने कम्तीमा सबै निर्वाचन क्षेत्रमा एक पटक पुग्नैपर्ने निर्देशन गरेको छ ।

केन्द्रीय प्रतिनिधिले सम्बन्धित जिल्लामा रहेका प्रतिनिधिसभा क्षेत्रस्तरमा सो क्षेत्रका महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टीका जिम्मेवार पदाधिकारीसहितको बैठक गर्नुपर्नेछ । सो बैठकमार्फत् पार्टीभित्रका सानातिना विवाद र मतभेदहरू भुलेर निर्वाचनमा होमिन अपील गर्नेछ ।

त्यस्तै, केन्द्रीय प्रतिनिधिले जिल्लामा गठबन्धनमा रहेका दलहरूबीच समन्वय र सहकार्यको स्थिति कस्तो छ भन्ने मूल्यांकन गरी सहजीकरण गर्नुपर्ने जिम्मेवारी कांग्रेसले दिएको छ । निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपूर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपील गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार