काठमाडौँ, भदौ ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित गरेको नागरिकता विधेयक फिर्ता पठाएर विधेयकमा ठूलै त्रुटि रहेछ कि भन्ने भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । उनले राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुनः संसद्बाट पारित भइसकेकाले अब राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे ।
शनिबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले राष्ट्रपति भण्डारीले पहिले ओली सरकारले त्यही कुरा समेटिएको अध्यादेश ल्याउँदा स्वीकार गरेको, तर अहिले सार्वभौम संसद्ले पास गरेको विधेयक भने रोक्ने प्रयास गरेको बताए ।
‘तपाईँहरूलाई थाहै छ, हिजो ओली सरकारले ल्याएको नागरिकता विधेयकसम्बन्धी अध्यादेश राष्ट्रपतिजीले तत्काल जस्ताको त्यस्तै जारी गिरन । अहिले सरकारले हुबहु त्यही समेटिएको विधेयक संसद्मा लगेर पारित गरेको हो,’ उनले भने, ‘ फिर्ता गरेर विधेयकमा ठूलै त्रुटि रहेछ भनेझैँ गरी भ्रम सिर्जना गर्ने काम भएको छ ।
वास्तवमा नागरिकता विधेयकमा नयाँ कुरा केही छैन । यदि संविधानमै बाझिने गरी संसद्ले कानुन बनाएको भए उनले प्रश्न उठाउनु ठीकै हुने थियो । तर, खाली भ्रम सिर्जना गर्ने र राजनीतिक स्वार्थ पुर्ति गर्ने प्रयास भएको देखिन्छ ।
उनले किन त्यस्तो गिरन ? मलाई थाहा छैन ।’ प्रवक्ता महतले नागरिकता विधेयक पुनः संसद्बाटै पास भइसकेकाले अब राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नभएको बताए ।