२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाली कांग्रेस

महामन्त्री शर्माले भने : 'सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता '

आइतवार , श्रावण २२, २०७९


बनियानी,  साउन ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताउनुभएको छ ।

डेमोक्रेटिक लयर्स एशोसिएशन झापाको आज चन्द्रगढीमा आयोजना गरेको ‘मुलुकको समसामयिक परिस्थिति’ विषयक अन्तरक्रियामा महामन्त्री शर्माले भन्नुभयो, “राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने हो, सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरताका कारण विदेशी हस्तक्षेप बढ्ने गरेको छ ।” उहाँले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो रहेको औँल्याउनुभयो । 

आन्तरिक आम्दानीले मात्र मुलुकमा विकासका ठूला आयोजना सञ्चालन गर्न नसकिने बताउँदै महामन्त्री शर्माले वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको उल्लेख गर्नुभयो ।

“मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देश बनाउन एमसिसी स्वीकार गरिएको हो”, उहाँले भन्नुभयो, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीमाथि नकारात्मक भावना भ्रमका रूपमा फैलाइरहेका छन् ।”

मुलुकले तीव्र विकासको मार्गमा अघि बढ्न नसक्नुको कारण राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति रहेको उहाँको भनाइ छ । विकास आयोजनाको वास्तविकता नबुझी दलका नेतृत्व लिएका नेताहरूले सबै थोक बुझेको शैलीमा काम गर्दा विकास परियोजना अलपत्र पर्ने गरेको उहाँले बताउनुभयो । देशको प्रगतिका लागि कम्तीमा १५ वर्षे योजना बनाएर काम गर्न सके मात्र मुलुक अर्काको सहयोगमा चल्नु अवस्थाको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार