२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रास्वपा प्रथम राष्ट्रिय महाधिवेशन : ' देशव्यापी सङ्गठन विस्तार '

बुधवार , आषाढ ३, २०८३

 

काठमाडौँ, असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)  ले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा देशव्यापी रूपमा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । वडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले सङ्गठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरणलाई तीव्र गतिमा अघि बढाएको हो ।

यही असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशनअघि पार्टीले अधिकांश तहका अधिवेशन सम्पन्न गर्दै पाँच प्रदेशमा नयाँ नेतृत्व चयन गरिसकेको छ ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले हालसम्म देशभरका छ हजार ७४३ वडामध्ये चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिए । उनका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ६०९ पालिकामा नयाँ नेतृत्व चयन भइसकेको छ ।

त्यसैगरी ७७ जिल्लामध्ये ६४ जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठन गरिएको छ । महाधिवेशनपूर्व सम्पन्न प्रदेश अधिवेशन अन्तर्गत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ ।

कोशी प्रदेश सभापतिमा चन्द्र राई, बागमती प्रदेश सभापतिमा उत्सव अर्याल, गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी र लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित  भएका छन ।

सुदूरपश्चिम प्रदेशको नेतृत्वमा प्रकाश विष्ट पुनः निर्वाचित भएका छन । धनगढीमा सम्पन्न प्रदेश अधिवेशनमा विष्टले ३५८ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य जनकसिंह धामीलाई पराजित गरेका थिए ।

बागमती प्रदेशमा भएको प्रतिस्पर्धात्मक निर्वाचनमा उत्सव अर्यालले निवर्तमान सभापति अच्युतम लामिछानेलाई दुई मतको अन्तरले पराजित गर्दै नेतृत्व समालेका छन।

गण्डकी प्रदेशमा नवीन त्रिपाठीको नेतृत्वसँगै नयाँ पुस्ताको सहभागिता थप सशक्त बनेको पार्टीको भनाइ छ । लुम्बिनी प्रदेशमा प्रारम्भिक चरणमा कुनै उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदानमार्फत शालिकराम घिमिरे प्रदेश सभापतिमा निर्वाचित भएका थिए ।

कर्णाली प्रदेशमा अधिवेशन प्रक्रिया जारी छ भने मधेश प्रदेशको अधिवेशन केही प्राविधिक तथा प्रतिनिधित्वसम्बन्धी विषयमा छलफल भइरहेकाले स्थगित गरिएको पार्टीले जनाएको छ ।

कर्णाली प्रदेशको डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुमपूर्व, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ तथा मधेश प्रदेशको धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन बाँकी रहेको छ ।

त्यसैगरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा सुरु भएको निर्वाचन प्रक्रिया विभिन्न कारणले स्थगित भएको जनाइएको छ । रास्वपाले प्रदेश तथा जिल्ला अधिवेशनहरूलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा सञ्चालन गर्दै प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरेको जनाएको छ ।

पार्टीले एक पद, एक व्यक्ति को सिद्धान्त अवलम्बन गर्दै पारदर्शी, विधिसम्मत र सहभागितामूलक ढङ्गले नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाएको जनाएको छ । रास्वपाका केन्द्रीय निर्वाचन आयोगका संयोजक भुवन केसीका अनुसार बाँकी जिल्लामा पनि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

कर्णाली प्रदेश अधिवेशनमा पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ । पार्टीले अधिवेशन सम्पन्न हुन बाँकी रहेका संरचनाको नेतृत्व चयन महाधिवेशनपछि टुङ्ग्याउने तयारी गरेको छ ।

यसैबीच चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनमा देश तथा विदेशबाट करिब दुई हजार पाँच सय प्रतिनिधिको सहभागिता रहने छ ।

नयाँ केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणालीको प्रयोग गरिने छ । विदेशमा रहेका करिब १७० प्रतिनिधिका लागि मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

पार्टीले महाधिवेशनलाई प्रविधिमैत्री, पारदर्शी र समावेशी बनाउने लक्ष्य लिएको जनाएको छ । सम्पूर्ण निर्वाचन प्रक्रिया विद्युतीय प्रणालीमार्फत सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनलाई सङ्गठनको संस्थागत विकास, नीति निर्माण तथा नेतृत्व चयनको महवपूर्ण अवसरका रूपमा लिएको केन्द्रीय सदस्य धनेज थापाले बताए ।

महाधिवेशनले पार्टीको भावी राजनीतिक कार्यदिशा तय गर्नुका साथै सङ्गठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने उनले स्पष्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार